गाउँका परम्परागत कुडुले घर हराउँदै, सहरमा महत्व बढ्दै

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका –३, खादरमा पर्यटकको मनै लोभ्याउने कुडुले घर छन । खरका छाना, एउटा ढोका, एक तलाको घुमाउरो शैलीमा बनेका घर हेर्दा जो कसैको पनि मन लोभिन्छ ।

कुडुले घर हेर्दा सानो तर आकर्षित देखिन्छ । परम्परागत रुपमा बनेका यी घरहरु आजभोली क्रमश हराउँदै गएका छन् ।

खादरमा केही वर्ष अघिसम्म गाउँभरी नै कुडुले घर भएपनि अहिले भने दश–पन्ध्र वटा मात्रै कुडुले घर रहेको देखिन्छन् । नयाँ र आधुनिक घरको विकासभएसंगै परम्परागत कुडुले घर विस्तापित भएको स्थानीयहरु बताउँछन् ।

आवासका लागि नयाँ बनाउनेले कुडुले घर नबनाउने र नयाँ पुस्तामा यसको महत्वबारे जानकारी नहुँदा कुडुले घर बन्न छाडेका हुन् । कुडुले घर बनाउन कच्चापदार्थको अभाव र छानो हाल्न झन्झटिलो हुँदा यस्तो शैलीका घर बन्न छाडेको स्थानीय लेखन्त बिसी बताउँछन । कुडुले घर हेर्दा साघुँरो देखिने भएपनि एउटै घरभित्र खाना बनाउनेदेखि बस्ने खानेसम्म गर्न मिल्ने खालको हुन्छ । एउटा मात्र ढोका हुने कुडुले घरमा गर्मी याममा शीतल र जाडोमा न्यानो हुने स्थानीय मनिसरा ढेगाले बताईन ।

खरले छाएको कुडुले घर भित्र फराकिलो हुने र एकै ठाउँमा सुत्न, बस्न र खाना पकाउनसमेत गरिन्छ । घर बनाउदा पातीले बारेर र लिपेर घुमाउरो बनाउने चलन रहेकामा अहिले ढुङ्गा माटोले पर्खाल उठाउने चलन आएको छ । ग्रामीण क्षेत्रमा यसको महत्व कम भएपनि शहरी क्षेत्रमा भने यसको महत्व बढेको छ ।

केहिवर्ष अघिसम्म गाउँघरमा मात्र देखिने कुडुले घरहरु आजभोली सहरका होटल तथा रिसोर्टमा देख्न पाईन्छ । मेला तथा महोत्सवमा समेत कुडुले घरका झल्को हेर्न पाइन्छ । गाउँघरमा प्रशस्त मात्रामा रहेका यस्ता घरहरु ओझेलमा परेपनि मेला महोत्सवहरुमा भने दर्शकहरुले कुडुले घर हेर्नका लागी टिकट काटने गरेका छन् । परम्परागत कुडुले घरको संरक्षणका लागि स्थानीय सरकारबाट पहल हुनुपर्ने स्थानीय बताउँछन ।

निस्दी गाउँपालिका पर्यटकका लागी गन्तव्यको रुपमा रहेपनि उचित प्रचार हुन नसक्दा ओझेलमा परेको छ । पर्यटकका लागी मनोरम स्थलहरु मध्य निस्दी को मित्यालमा हावाबाट बिजुली उत्पादन, खादरमा कुडुले घर, झिरुवासमा नमूना अम्रिसो खेती अवलोकन गर्न पर्यटकहरुले रुचाउने गरेका छन । निस्दीबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्रे लगायतका हिमालहरु समेत प्रष्ट रुपमा देख्न सकिनछ ।

निस्दीमा पर्यटकको अपार सम्भावना रहेपनि अहिलेसम्म पनि सिंगो गाउँपालिका नै केन्द्रिय विद्युतीकरणमा जोडिन सकेको छैन । यसतर्फ सम्बन्धीत निकायको बेलैमा ध्यान पुग्नसके निस्दीलाई आन्तरीक र बाह्य पर्यटकका लागी राम्रो गन्तव्य बनाउन सकिने देखिन्छ ।

तपाईको प्रतिक्रिया