
१) रायोको लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?
रायो हिउँद, जाडो मौसममा पाइने प्रमुख तरकारी वाली हो । वढी तापक्रममा यसको डुकु छिटो निस्कन थाल्दछन् तर प्रकाश नपुगेको ठाउँमा राम्रो सप्रिँदैन । मध्यम प्रकाश र चिसो मौसममा वाली राम्रो सप्रन्छ । जमीनमा वढी चिस्यान भएको ठाउँमा पनि राम्रो सप्रिँदैन । साग वालीअन्तर्गत रायो नेपालमा सवै भन्दा वढी उत्पादन गरिने तथा मन पराईने तरकारी बालीमा पर्दछ ।
२) नेपालमा यसको खेती कुन कुन क्षेत्रमा गरिन्छ ?
यसको खेती नेपालको तराई देखि उच्च पहाड सम्म नै गर्न सकिन्छ तर तराई र मध्य पहाडमा यो हिउँदे वाली हो भने उच्च पहाड जहाँ तुसारो र हिउँ पर्दछ त्यस्तो इलाकामा ग्रीष्म याममा खेती गर्नु पर्दछ । यसको खेती छोटो दिन ठण्डी तापक्रम र ओसिलो वायुको वहाव भएको समयमा राम्रो हुन्छ ।
३) रायो जस्तै सागबाली अन्तर्गत पर्ने अन्य तरकारी वालीहरु कुन कुन हुन् ?
रायो जस्तै साग खाने वालीहरुमा मूख्य रुपमा चम्सुर, पालुङ्गो, मेथी लट्टे, वेथे, लेटुस स्वीसचार्ड हुन भने कम चलन चल्तीमा रहेका सागवालीहरुमा डुन्डु, वावरी, चट्टेल, छ्यापी, सलरी, पार्सले, धनिया, मेथे, कर्कलो पाकचोय, न्यूरो, फापर, पटुवा, पोई साग, काङ्गकुङ्गको साग आदि पर्दछन् ।
४) रायोलाई कुन कुन रुपमा प्रयोग गर्न सकिन्छ ?
रायोको वढेको, हरिया, कलिला पातहरु पकाएर खाईन्छ । यसका खान लायक पात मसिनो गरी काटेर सुकाएर पछि प्रयोग गर्न सकिन्छ भने यस्ता पातलाई हल्का सुकाएर अलि अलि कुटेर टीन, ड्रम वा जमीनमा खाडल खनी पराल विच्छ्याई त्यसका राम्ररी थिचेर २–३ हप्तामा अमिलो गुन्द्रुक तयार गर्न सकिन्छ र वेमौसममा उपयोग गर्न सकिन्छ ।
५) रायोमा कुन कुन तत्वहरु वढी मात्रामा उपलब्ध हुन्छन् ?
यसमा भीटामीन ए.वी.सी. र ई, फलाम (आईरन), सजिलै पच्ने प्रोटिन क्यारोटिन, रेशा, विटा क्यारोटिन, क्याल्सियम आदि प्रशस्तमात्रामा पाईन्छ भने कार्वोहाइड्रेट, फ्याट जस्ता पोषक तत्वहरु कम मात्रामा पाईन्छन् यसलाई फलामको मूख्य श्रोतको रुपमा चिनिन्छ ।
६) यसको खेती कस्तो माटोमा गर्न उपयुक्त हुन्छ ?
यसको खेती प्रायः सवै किसिमको माटोमा गर्न सकियता पनि मलिलो दोमट माटो उपयुक्त हुन्छ।प्राङ्गारिक पदार्थ प्रशस्त भएको जमीनमा यसका पातहरु राम्ररी फैलने नरम र खाँदा स्वादिलो हुन्छ।यसलाई माटोमा चिस्यान भएको राम्रो हुन्छ तर वढी चिस्यान भएमा वोट पहेँलिन्छ अतः निकासको राम्रो व्यवस्था हुन जरुरी हुन्छ ।
७) नेपालमा रायो खेतीका लागि कस्ता जातहरु सिफारीस गरिएका छन् ?
नेपालमा स्थानीय तथा सुधारिएका जातहरु भौगोलिक क्षेत्र अनुसार विकसीत भएका छन् तर सिफारीश गरिएका जात भने सिमित छन् । यी जातहरु तराई, पहाड तथा उच्च पहाडमा लगाउने गरी सिफारीस गरिएको छ ।
८) भौगोलिक क्षेत्र अनुसार कुन कुन जातहरु कुन क्षेत्रमा लगाउन सकिन्छ ?
खुमल चौडापात, मार्फा चौडा पात तथा खुमल रातो पात तराई, मध्यपहाड तथा उच्च पहाडमा समेत लगाउन तर ताङखुवा, रेड जायन्ट, माइक पर्पल जाइन्ट जातहरु भने मध्य पहाडी क्षेत्रमा खेती गर्नको लागि शिफारीस गरिएको छ ।
९) खुमल चौडा पात जातको विशेषताहरु के के हुन् ?
यस जातको सागको पातको रंग गाढा हरियो, झुस विहिन चौडा पात भएको हुन्छ । यो धेरैले मन पराउने जात हो । पातहरु २५–३० से.मि. लामो र १५–२० से.मि. चौडा हुन्छन् । प्रति हेक्टर २५–३० मे.टन उत्पादन लिन सकिन्छ ।
१०) रातो पात हुने रायोको जातको नाम के हो ? यसको खास विशेषता के छ ?
रातो पात हुने रायोको जात ‘खुमल रातो पात’ हो । यसको पात प्याजी रातो रंग मिश्रीत हल्का हरियो, झुस नभएको, खुम्चिएका २५–३० से.मि. लामा २०–२५ चौँडा हुन्छन् । पात र डाँठ हल्का वाङ्गिएका कप आकारका हुन्छन् ।
११) के उच्च तापक्रममा पनि छिटो डुकु नहाल्ने जात नेपालमा पाइन्छ ? पाइन्छ भने कुन कुन हुन्? यस्ता जात नेपालमा पाइन्छन् ?
माईक पर्पल जाईन्ट तथा रेड जाइन्ट जातहरु उच्च तापक्रममा पनि छिटो डुकु नहाल्ने र नफुल्ने खालका जात हुन् र सिफारिस गरिएका जातहरु पनि यिनै हुन् ।
१२) भौगोलिक क्षेत्र अनुसार कुन क्षेत्रमा कुन समयमा वाली लगाउन उपयुक्त होला ?
रायो खेती मध्य पहाडी क्षेत्रमा वेमौसमी र अन्तरवालीको रुपमा बाह्रै महिना लगाउने गरिन्छ तर व्यवसायिक उत्पादनको लागि भने उच्च पहाडमा फाल्गुण–वैशाख, मध्यपहाडमा भदौ–मंसिर सम्म र भित्री मधेश वा तराईमा असोज–पौष सम्म लगाएको वाली राम्रो हुन्छ ।
१३) रायोको खेती गर्दा जमीनको तयारीमा कत्तिको ध्यान पुर्यावउनु पर्दछ ?
रायो छिटो तयार हुने वाली भएकोले लगाउनु भन्दा अगाडी जमीनको तयारी राम्ररी गर्नु पर्दछ। यसको लागि २५–३० से.मि. गहिराई सम्म राम्ररी खनजोत गरी प्रांङ्गारिक मल प्रशस्त हाल्नु पर्दछ । माटोलाई बुर्बुराउदो तुल्याउनु पर्दछ ।
१४) प्रति रोपनी जमीनमा मलखादको मात्रा कति चाहिन्छ ?
एक रोपनी जमीनको लागि ८०० के.जी. गोवरमल, १० के.जी. नाईट्रोजन, ९ के.जी. फोस्फोरस तथा ४ के.जी. पोटासको आवश्यकता पर्दछ । नाईट्रोजनको आधा भाग र अन्य मल रोपनी भन्दा अगावै र आधा भाग नाईट्रोजन, ३० दिन पछि टप ड्रेस गर्नु पर्दछ ।
१५) रायो खेती गर्न प्रति रोपनी जमीनको लागि कति वीउको जोगाड गर्नुपर्ला ? कति दूरीमा बेर्ना सार्दा बढी उत्पादन लिन सकिन्छ ?
प्रति रोपनी ३० ग्राम वीउ भएर पुग्दछ । राम्ररी तयार गरेको व्याडमा ३–४ हप्तामा वेर्ना सार्न लायक हुन्छ । हार देखि हारको दूरी ४५ से.मि. र वोट देखि वोटको दूरी ३० से.मि. मा वाली लगाउँदा उत्पादन राम्रो हुन्छ ।
१६) अन्य तरकारीवालीको तुलनामा रायोलाई कम गोडमेल गर्दा हुन्छ किन ?
रायोको सागले जमीनलाई ढाक्ने भएकोले झारपात कम आउने र माटो हल्का रहने हुँदा जमीन खुल्ला रहने वालीमा भन्दा कम गोडमेलको आवश्यक हुन्छ तर वाली अवधिभरमा २–३ पटक गोडमेल भने गर्नु पर्दछ ।
१७) रायोसँग अन्तरवालीको रुपमा अन्य वाली लगाउन सकिन्छ ? अन्तरवालीमा सुहाउने त्यस्ता कुन कुन वाली हुन सक्छन् ?
रायो सँग अन्तरवालीको रुपमा भन्दा पनि अन्य वाली सँग रायो अन्तर वालीको रुपमा लगाउने प्रचलन वढी छ । यसरी लगाउने क्रममा गोेलभेडा, काँक्रो, सिमी, वोडी, मकै, जुनेलो, खुर्सानी र भण्टा जस्ता वालीहरु सँग उचित दूरी तथा काँटछाँटको प्रकृया मिलाई अन्तरवाली लगाउन सकिन्छ ।
१८) अल्टरनेरिया थोप्लो रोगका लक्षण कस्ता हुन्छन् ? यसको व्यवथापन कसरी गरिन्छ ?
यस रोगले आक्रमण गर्दा सुरुको अवस्थामा स साना हल्का खैरा थोप्लाहरु पातमा देखा पर्दछन्।पछि थोप्ला वढेर ठूला गोलाकार वन्दछन् । वीचको भाग चम्किलो रंगको हुन्छ भने किनारा खस्रो र जीर्ण हुन्छ । यो रोग नलागोस भन्नका लागि डाईथेन एम–४५ वा थिराम २–३ ग्राम प्रति के.जी. वीउमा उपचार गर्नु पर्दछ । खेतीको अवस्था देखा परेपछि वलाईटक्स ५० २–३ ग्राम प्रति लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्नु पर्दछ ।
१९) रायोको पातमा कहिलेकाही चकको धुलो छरिए जस्तो सेतै देखिन्छ के कारणले हो ?
रायो वालीमा यस्तो किसिमको समस्या देखिने कारण ढुसीबाट उत्पन्न हुने सेतो सिन्दुरे रोगले गर्दा हो । शुरुमा पातलो तल्लो सतहमा स–साना सेता थोप्लाहरु देखापर्दछन् । आक्रमण बढ्दै जाँदा साना थोप्लाहरु बढ्दै गएर ठूला हुन्छन् । थोप्लामा सेतो चक रंगका ढुसीको धुलो भरिएको हुन्छ जसले गर्दा पुरै पातहरु सेतो देखिन्छन् । यसको रोकथाम डाइथेन एम–४५ वा वलाइटक्स–५० २–३ ग्राम प्रति लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा हुनु पर्दछ ।
२०) यो वालीमा देखिने सवैभन्दा हानिकारक कीरा मानव स्वास्थ्यलाई हानी नपुग्ने गरी कसरी व्यवस्थपन गर्न सकिन्छ ?
लाही कीरा रोगर जस्ता दैहिक विषादिले नियन्त्रण गर्न सकिन्छ तर सागवाली तुरुन्तै टिपेर वेच्नु पर्ने वा खानु पर्ने हुँदा स्वास्थ्यलाई हानी नपुर्यासउने खालका व्यवस्थापन विधि अपानाउनु पर्ने हुन्छ । गाईको गहूँत वा घरायसी झोलमोलमा १० भाग पानी मिसाएर छर्ने तथा मार्गोसम निमको झोल ३ मि.लि. प्रति लिटर पानीमा छर्नु पर्दछ ।
२१) झुसिलकीराको व्यवस्थापनमा सवैभन्दा सजिलो तरीका के अवलम्बन गर्न सकिन्छ ?
झुसिलकीराहरु ठूलो आकारमा भएकाले हातले टिपेर जम्मा गरी गाडी दिने वा सुकेको पात तथा यस कीराबाट नोक्सान पुर्याईएका पातहरु जलाएर पनि व्यवस्थापन गर्न सकिन्छ । धेरै संख्यामा भएको खण्डमा जैविक विषादिको प्रयोग गरी रोकथाम गर्न सकिन्छ ।
२२) रायोमा कहिलेकाहीँ छिट्टै डुकु पलाउने वा छिट्टै फूल्ने समस्या देखिन्छ कारण के हो ?
वाली लगाउने समय नमिल्दा, हावापानी तल माथि हुँदा र समय अनुसारको वाली जात नलगाउँदा यस्ता समस्याहरु आईलाग्दछन् । यसको समाधान हेतु प्रथमत भौगोलिक क्षेत्रअनुसार सिफारीस भएका जात लगाउने, सिजनमा मात्र वाली लगाउने तथा पानीको तथा खाद्य तत्वको अभाव हुन दिनु हुँदैन ।
२३) रायोको एउटा जात लगाउँदा एदाकदा अर्कै जातको गुणरचरित्र देखिन्छ किन ?
यो खुल्ला सेचित वाली भएकोले श्रोत नखुलेको, गुणस्तर नरोकिएको, लेवलिङ्ग नगरिएको वीउ प्रयोग गर्दा यस्ता समस्या देखा पर्दछन् । यस्तो समस्या नआओस भन्नका लागि प्रथमत वीउ उत्पादनमा पृथकता दूरी कायम गरी उत्पादन गरिएको वीउ प्रयोग गर्नु पर्दछ ।
२४) तु्सारो वा ज्यादा ठण्डाबाट जोगाई रायो खेती गर्ने कुनै तरिका छ ?
असामान्य तापक्रम (शुन्य डिग्री सेल्सीयस वा सो भन्दा तल) गिरावटले रायोको पातको वृद्धि ढीला भई कक्रेर वसेको हुन्छ । लामो अवधि सम्म यस्तो अवस्था आईपर्ने ठाउँहरुमा प्लाष्टिकको घर निमार्ण गरी तथा चिसो सहने जातहरु लगाई समस्यावाट पार पाउन सकिन्छ।
२५) कुन कुन तत्वको अभावमा रायोको पातहरु खुम्चिने गर्दछन् ?
खास गरी म्याग्निज, म्याग्नेशियम तथा क्याल्सीयम जस्ता सुक्ष्म तत्वको कमीका कारणले यस्तो समस्या देखिन्छ । यस्ता समस्या विरुवामा यी तत्वहरु समावेश भएका मलहरु पातमा छरेर केही हद सम्म समाधान गर्न सकिन्छ ।
२६) रायो साग सारेपछि कति दिन सम्ममा टिप्न तयार हुन्छ ? टिप्दा खेरी कस्ता कस्ता पात र कसरी टिप्नु पर्दछ ?
रायो साग वाली रोपेको ३०–४० दिनमा पहिलो टिपाई गर्न सकिन्छ।त्यसपछि प्रत्येक १०–१५ दिनको फरकमा करीव १०० दिन सम्म टिप्न सकिन्छ । पात टिप्दा वीचको पात टिप्नु हुदैन।साईज भएका कलिलो र कोमल वाहिरका पातहरु टिप्नु पर्दछ । सही समय चोटपटक नलगाई हलुका तवरले टिप्दा नयाँ पात पलाउने र टिपाईको पटक समेत वढ्छ ।
२७) रायो टिपे पश्चात राम्रो मूल्यमा विक्रि गर्न यसको ग्रेडिङ्ग तथा प्याकिङ्गमा के सावधानी अपनाउनु पर्दछ ?
रायो साग सकेसम्म वेलुकीपख सफा मौसममा टिपी संख्याको आधारमा मुठ्ठा पारी हावादार कोठामा राख्नु पर्दछ । यसरी ग्रेडिङ्ग गरेको सागले वढी मूल्य पाउँदछ ।
२८) सागबाली सकेसम्म ताजा उपभोग गर्न राम्रो हो तर भण्डारण गर्नेपर्ने अवस्थामा कति तापक्रम र आर्दतामा कति दिन सम्म राख्न सकिन्छ ?
सागवाली लामो अवधिसम्म भण्डारण गर्न सकिन्न तथापि ० डि.से. तापक्रममा ९०५ सापेक्षित आर्द्रता कायम गरेर ५–२० दिन सम्म भण्डारण गर्न सकिन्छ । लामो अवधि भण्डारण गरेर राखेको साग स्वादिलो हुँदैन ।
२९) रायो साग प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ ?
सिफारीस अनुसारको जात, मलखाद तथा अन्य व्यवस्थापकीय पक्ष ठीक हुँदा ३०००–५००० के.जी. प्रति रोपनी उत्पादन गर्न सकिन्छ ।
३०) के रायो सागलाई प्याकिङ्ग गर्न जरुरी हुन्छ र कसरी प्याकिङ्ग गर्नु पर्दछ ?
रायोको साग कलिलो अवस्थामा विक्रि गर्नु पर्ने हुँदा टुट्न नपाओस दागी नलागोस भनेर राम्रो प्याकिङ्ग गर्न जरुरी हुन्छ । नेपालमा प्रायः डोको खर्पनमा राखेर वा ती खर्पन डोकोलाई प्लाष्टिकको क्रेटमा राखेर वजारमा पुर्यायउने चलन छ । यदाकदा प्लाष्टिक क्रेटमा राखेर ढुवानी गरेको पनि पाईन्छ, जो ढुवानीको हिसावले प्रभावकारी देखिन्छ ।
३१) रायोको साग टिपिसकेपछी इथाईलिन उत्पन्न गर्ने वालीहरुसँग सँगै राख्नु हुँदैन किन ?
रायो सागले नगन्य मात्रामा मात्र इथाईलिन रिलिज गर्दछ र इथाईलिनको ज्यादै सिन्सेटिभ हुन्छ।अतः इथाईलिन रिलिज गर्ने वाली सँग सँगै राख्दा छिट्टै ओइलिने र पहेँलिने हुन्छ ।
४२) रायोमा भाइरस रोगका लक्षणहरु यस्ता हुन्छन् ? यसको व्यस्थापन कसरी गरिन्छ ?
यस रोगको कारणले पातहरुमा टाडेपाटे रंग देखिन्छ र नसा पहेलिन्छ रोग वढ्दै गएपछि पात पूर्ण पहेँलो भई नसाहरुको वीचमा विभिन्न आकारका हरियो उठेका भागहरु देखिन्छन् । यसको व्यवस्थापन हेतु रोगी विरुवाहरु उखेलेर जलाउने, रोग मुक्त वीउ÷वेर्ना प्रयोग गर्ने तथा चुसाहा प्रकृतिका कीराहरुलाई नियन्त्रण गर्नु पर्दछ ।
३३) कहिले काहीँ नर्सरीमा रायोका विरुवाहरु फेदै कुही ढल्ने गर्दछन् के कारणले होला र यसको व्यवस्थापन कसरी गरिन्छ ?
रायोको वेर्ना राखेको ठाउँमा पानीको निकास नहुँदा वढी निस्यान रहने, वेर्ना वाक्लो हुँदा वढी समस्याको रुपमा देखिन्छ । यो ढुसीवाट उत्पन्न हुने रोग हो । जसले गर्दा वेर्नाको फेद कुहिन्छ र वेर्ना ढल्दछ ।
३४) रायो खेती लगातार एउटै खेत वारीमा लगाउँदा वोटहरुको वृद्धि नहुने, दिउसो ओइलाउने तर विहान वेलुका सामान्य देखिने के कारणले होला ? यस्तो हुनवाट कसरी वचाउन सकिन्छ ?
यो ढुसीको कारणले उत्पन्न हुने रोग हो।यस रोगले आक्रमण गरेपछि रायोका जरामा गाँठाहरु विकसीत हुन्छन् र वृद्धि विकास रोकिन्छ । प्रारम्भमा ऐजेरु वा जरामा देखिने वोटको जुकाका लक्षणको आभास हुन्छ।यसको व्यवस्थापनका लागि उही परिवार वाहेकका वालीहरुको घुम्ती वाली प्रणाली अपनाउने, माटोको पि.एच.मान ७ भन्दा वढी राख्ने तथा नेविजिन नामक विषादी १ के.जी. प्रति रोपनिका दरले वालीमा लगाउनु पहिले प्रयोग गर्नु पर्दछ।