पाल्पा। पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । यसपालि कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुश्किल भएपछि किसानहरु चिन्तित बनेका छन् ।
पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गमा बाँदरले पाकेको सुन्तलालाई नोक्सानी गर्न थालेपछि बोटका दाना जोगाउन समस्या भएको हो । उचित मुल्य र सुरक्षाका लागि सुन्तला अझै टिपिएको त छैन तर, बाँदरबाट सुरक्षित राख्न किसानलाई चुनौती भएको छ । सुन्तला बगानमा बाँदर पसेर नोक्सानी गरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
बाँदरले सुन्तलामा नोक्सानी गरेपछि हरियो सुन्तला बिक्री गरिएको गुनासो वडाध्यक्ष तथा किसान हुमानसिँह कार्कीले गर्नुभयो । झण्डै चार सय किलो सुन्तला बाँदरका कारण छिटो टिपेर बेच्न बाध्य भएको बताए । घरदेखि तल्लोबारीमा तलबाट बाँदर आएर नोक्सानी गरेको थाहा हुँदै, त्यसैले त्यो बारीको सुन्तला हरियोमा नै विक्री गरिएको बताए ।
गत बर्ष झण्डै चार लाखको सुन्तला विक्री भएको बताउने कार्की यसपालिका एक लाखको हाराहारी विक्री हुने अवस्था रहेको बताए । बाँदरको समस्या र यसपालिका सुन्तला उत्पादनमा समेत कमी आएको हो । स्थानीयबासिन्दा डिलमाया गाहाका अनुसार वन क्षेत्रबाट बाँदर आएर सुन्तला खेतीमा नै क्षति गर्न थालेपछि समस्या हुँदै आएको छ । मकैबाली उत्पादन गर्न छाडेर सुन्तला खेती मात्र व्यस्त हुनुभएको गाहाको प्रमुख आम्दानीको स्रोत सुन्तला खेती हो ।
पहेँलपुर सुन्तला बगानमा नै बाँदर पसेर फोकेर खाने र नोक्सानी गर्ने समस्या बढेको गाहाको दावी छ । पहिला गाउँमा बाँदर नै नभएको र सुन्तला खेतीमा नोक्सानी नगर्ने गरेको किसानको दावी छ ।पछिल्ला समय गाउँमा बाँदरको विगविगी भएपनि स्थानीय सरकारले बाँदर व्यवस्थापनमा चासो नदेखाएको किसानको गुनासो छ ।
जिल्लाका अधिकाँश स्थानमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएपनि बाँदरबाट किसानहरु चिन्तित बनेका छन् । पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका सुन्तला खेतीका लागि उपयुक्त रहेको विज्ञको भनाई छ । अहिले रैनादेवी छहरा गाउँपालिकोको मुझुंग र छहरा, सोमादीमा र रिब्दीकोटको मैनादी, कुखुमखोला, खस्यौली क्षेत्रमा व्यवसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ । अन्नवालीमा बाँदरले नोक्सानी गरेपछि किसानहरु सुन्तला खेतीप्रति आकर्षित बनेका थिए ।
स्थानीय जंगबहादुर आलेका अनुसार वंनबाट बस्तीमा आएका बाँदर धपाउन मुश्किलो बनेको छ । उनीले बाँदर धपाउन अहिले एक्लै सकिने अवस्था नरहेको बताए । महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने र जिस्काउन थालेपछि उनी त्रसित बनेको हुन ।
पूर्वखोला गाउँपालिका–१, सिलुवामा बाँदरको अन्नवाली सखाप पारेपछि बस्तीबाट नै स्थानीयबासिन्दाहरु विस्थापित भएका छन् । पाँच सात वर्षको अवधिमा दश बाह्र घर गाउँबाट विस्थापित हुन थालेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कडेंलले बताए ।
जिल्लाका अधिकाँश स्थानमा बाँदर धपाउनका बन्दुक प्रयोग गरेपनि बाँदर भागेको छैन । बाँदरले बस्ती नजिक आएर किसानले उत्पादित अन्नवाली, तरकारी, घरभित्र राखिएका बस्तुहरु क्षेति गर्न थालेपछि किसानहरु चिन्तित छन् । सामुदायिक वन संरक्षण गर्न थालेपछि बाँदर, मृग, दुम्सी बदेँल र पन्छीको संख्या बढ्दो छ ।
दुःख गरी अन्नवाली उत्पादन गरेपनि पाकेपछि भित्रयाउने बेला बन्यजन्तुले नष्ट समस्या रहेको किसानको गुनासो छ । बाँदरले खादासम्म खान्छ, बाँकी नखाने, क्षति गर्ने गर्छ, मृग र दुम्सीले अहिले खेतीमा प्रवेश गरी नोक्सानी गर्न थालेको हो । पहिला बाँदर, मृग, दुम्सी र बदेँल बस्ती नजिक देखिएका थिएनन । अहिले खेतबारीमा नै देखिन थालेको स्थानीयबासिन्दा बताए ।