
आर बी निश्चल
कुनै पनि देश, शहर, गाउँ वा स्थानविशेष चिनाउने कति प्राकृतिक त कति मानवनिर्मित कुरा हुन सक्छन् । प्राकृतिक, ऐतिहासिक , धार्मिक अनि साँस्कृतिक महत्त्वका यस्ता कुराहरू पर्यटकीय आकषर्णका केन्द्र बनेका हुन्छन् । कहिलेकाहींँ त यस्ता पर्यटकीय गन्तव्यहरू यति प्रसिद्ध हुन पुग्छन् कि तिनले देश/महादेश चिनाउन सक्छन् । उदाहरणको लागि कसैले नेपालको नामै नसुनेर पनि सगरमाथा, लुम्बिनी, पोखरा वा मुस्ताङको बारेमा सुने/पढेको हुन सक्छ। कसैले भारतको नामै नसुनेर पनि ताजमहलको बारेमा सुनेजानेको हुनसक्छ त कसैले देश/ महादेशको नामै नजानी/ नसुनी संसारका सप्ताश्चर्यका बारेमा सुने/पढेको हुनसक्छ। पर्यटकीय आकर्षणका यस्ता गन्तव्यको आफ्नै विशिष्ट महत्त्व त छँदै छ अर्कोतर्फ यिनले पर्यटकलाई ज्ञान, मनोरञ्जन, शान्ति र आनन्द पनि प्रदान गर्दछन्। यसका साथै देशको आर्थिक विकासमा समेत पर्यटनले महत्त्वपूर्ण टेवा पुर्याएको हुन्छ।
यस आलेखमा देश संघीयतामा गएपछि गठित विभिन्न स्थानीय तहमध्ये रिब्दिकोट गाउँपालिका चिनाउने प्रमुख पर्यटकीय गन्तव्यका बारेमा केही उल्लेख गर्ने प्रयत्न गरिएको छ।
यो आलेख सम्पूर्ण गर्न लेखकद्वारा सम्बन्धित स्थानको स्थलगत अध्ययनअवलोकन भ्रमण गरिनुका साथै सम्बन्धित व्यक्ति वा सँस्थासँग प्रत्यक्ष भेटघाट तथा फोन सम्पर्क गरि जानकारी प्राप्त गरिएको छ। साथै, प्राप्य विभिन्न लेखोट, पुस्तक, ब्रोशर, घण्ट आदि स्रोत सामग्रीको अध्ययन गरि यथासम्भव सत्यतथ्य जानकारी संंकलन गर्ने प्रयत्न गरिएको छ। रिब्दीकोट गाँउपालिकाको सामान्य परिचय:
नेपालको पश्चिमी भागमा अवस्थित लुम्बिनी प्रदेशमा पर्ने सुन्दर पहाडी जिल्ला पाल्पाका विभिन्न दशवटा स्थानीय तहमध्ये रिब्दीकोट गाउँपालिका पनि एक हो। साविकका ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गा वि स मिलेर बनिएको यस गाउँपालिकाको नाम भने एउटा प्रसिद्ध लेक ” रिब्दीकोट” को आधारमा गरिएको छ। साविकका गाविसहरू अहिले वार्डमा रूपान्तरित गरिएको यस गाउँपालिकाको पूर्व र उत्तरमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका र दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन्। प्राकृतिक, धार्मिक , ऐतिहासिक तथा साँस्कृतिक विविधताका दृष्टिले यो गाँउपालिकामा पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको देखिन्छ । बाहुन, क्षेत्री, जनजाति र दलितजातिको बसोबास रहेको यो गाउँपालिकाको कार्यालय रिब्दीकोट-३ खस्यौलीमा रहेको छ।
प्रमुख पर्यटकीय गन्तव्य :
रिब्दीकोट गाउँपालिका चिनाउने प्रमुख पर्यटकीय गन्तव्यलाई प्राकृतिक महत्त्वका पर्यटकीय गन्तव्य र धार्मिक तथा ऐतिहासिक महत्त्वका पर्यटकीय गन्तव्यको रूपमा विभाजन गरि उल्लेख गर्नु सान्दर्भिक हुन्छ। हुन त प्राकृतिक महत्त्व बोकेका पर्यटकीय गन्तव्यको धार्मिक तथा ऐतिहासिक महत्त्व नहुने भन्ने होइन। तथापि मानवनिर्मित संरचनाभन्दा पनि प्राकृतिक भौगोलिक बनावट र मनोरम दृश्यका कारण पर्यटकीय गन्तव्य बनेका यस्ता स्थानको बेग्लै महत्त्व हुन्छ र कहिलेकाहीँ यी दुवै विषय परस्पर गाँसिएर आउन पनि सक्छन् । त्यस्तै, अहिले पर्यटकको मुख्य आकर्षण रहेका स्थानविशेषको मात्र चर्चा गर्दा पर्यटकीय सम्भावना बोकेका अन्य कतिपय महत्त्वपूर्ण स्थानविशेष छुट्ने भएकोले यहाँ सम्भावित पर्यटकीय गन्तव्यको बारेमा पनि उल्लेख गर्ने प्रयत्न गरिएको छ। रिब्दीकोट गाउँपालिकामा रहेका यस्ता प्रमुख पर्यटकीय गन्तव्यमा भैरव मन्दिर र जलेश्वर मन्दिर हुन्। त्यस्तै रिब्दीकोट लेक, रिङ्सिङ पहाड , छुन्फान डाँडा , छत्रदेव मन्दिर र सेल्फी डाँडो, योगीकुटी मन्दिरलगायतका स्थान प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेका स्थान हुन्। यीमध्ये केही पर्यटकीय गन्तव्यको बारेमा यस आलेखमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
१) पाल्पा भैरव मन्दिर
१.१ परिचय
“रिब्दीकोट” लेकको नामका आधारमा गाउँपालिकाको नामकरण हुनुअगावै पाल्पा भैरव मन्दिर प्रख्यात रहेको हो। यो मन्दिर रिब्दीकोट गाउँपालिकामात्र नभई पाल्पा जिल्ला नै चिनाउने एउटा प्रमुख धार्मिक एवम् ऐतिहासिक पर्यटकीय गन्तव्य हो। रिब्दीकोट गाउँपालिका-४ भैरवस्थानमा अवस्थित यो मन्दिर जिल्ला सदरमुकाम तानसेनबाट ९.५ किलोमीटर पश्चिममा पर्दछ। चारैतिरबाट शिखरिँदै गएको डाँडोको टाकुरो जो अन्तमा समतल छ त्यहीँ यो मन्दिर रहेकोे छ। समुद्र सतहबाट १४७० मिटर उचाइमा रहेको यो मन्दिरको परिसरले ११ रोपनी ४ आना ३ दाम क्षेत्रफल ओगटेको छ।यसका अलावा ५४ रोपनी ३आना १ पैसा २ दाम क्षेत्रफल भएको जग्गा मन्दिरले चर्चेको छ। मुकुन्द सेन प्रथमले वि.सं. १५१५ मा मच्छेन्द्रनाथको विहारको पटाङ्गिनीमा रहेको भैरवको मूर्ति ल्याई स्थापना गरेका थिए । यसैलाई पाल्पा भैरव भनिन्छ। यहाँ वर्षभरी नै भक्तजनको घुइँचो लाग्दछ।
१.२ धार्मिक तथा ऐतिहासिक विश्वास र मान्यता
पाल्पा भैरवमा भक्तजनले आआफ्नो मनोकाङ्क्षा पूरा होस भनी वर माग्ने र भाक्कल गर्ने चलन छ। यहाँ मागिएको वर पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। आफूले भाक्कल गरेको कुरा पछि मन्दिरमा चढाउने गरिन्छ। यहाँ भाक्कल पूजाका साथै क्षमा पूजा र पञ्चबलि पूजा हुने गर्दछ। चामलको पिठोमा चिनी, ल्वाङ , नरिबल , सुकमेल आदि राखेर बनाइएको बिशेष प्रकारको रोटी जसलाई ” रोट” भनिन्छ, प्रसादीको रूपमा यहाँ चढाइन्छ। रोट कुनै मानाका त कुनै पाथीका हुन्छन् । यहाँ नित्य पूजा हुन्छ र अखण्ड धुनी चल्दछ। यस मन्दिरमा गोरक्षनाथ सम्प्रदायका योगीबाट पूजा गर्ने प्रचलन छ। खासगरि वैशाख , मंसिर र नवदूर्गाको बेला भक्तालुको घुइँचो लाग्ने यस मन्दिरको तल्लो तला ( गुफा) मा रहेको खास भैरव मूर्तिलाई पुजारी बाहेक अरुले हेर्न नहुने मान्यता रहिआएको छ। अनौठो पूजाविधी रहेको यो मन्दिरमा दिनको करिब ३ बजेतिर पुजारीले रातो कपडाले मुख छोपी, दाहिने हातका औँलाहरूमा फूलपाती सिउरीएर जलघडाको मुखलाई पनि रातो कपडाले छोपी दाहिने काँधमा बोकी कसैसँग नबोली , सोही ठाउँको प्राचीन जय धाराबाट जल लिएर आउने र जल मन्दिरमा भित्रिएपछि भक्तालुको पूजा नलिइने तथा उक्त जल भोलिपल्ट नित्य पूजाको लागि प्रयोग गरिने श्री भैरव मन्दिर व्यवस्थापन समितिद्वारा प्रकाशित ब्रोशरमा उल्लेख गरिएको छ।
१.३ महत्त्व
पाल्पा भैरव मन्दिर धार्मिक , साँस्कृतिक , ऐतिहासिक, आर्थिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको छ। यो मन्दिर धार्मिक रूपले हिन्दूहरूको महत्त्वपूर्ण गन्तव्य त हुँदै हो साथै, यसको सम्बन्ध सेन वंशका राजा रूद्र सेनका सन्ततिसँग जोडिएको तथा राज्य विस्तारका अनेक प्रसंग जोडिएको हुनाले यसको ऐतिहासिक महत्त्व र सन्दर्भ दर्शिन्छ। यहाँ प्रचलित फागू नाच, लाखे नाच, लोक भजन आदि साँस्कृतिक दृष्टिले महत्त्वपूर्ण छन्। भेटीबाट उठ्ने रकमका दृष्टिले यसको आर्थिक महत्त्व झल्किन्छ। त्यस्तै, यहाँबाट उत्तरका अग्ला-अग्ला चाँदीझैँ टल्किने हिमालका साथै सेरोफेरोका हरिया पर्वतमाला पनि अवलोकन गर्न सकिने भएकोले पर्यटकीय दृष्टिले यो ठाउँ अति महत्त्वपूर्ण मानिन्छ । यहाँ सुनौलो, ठूलो ऐतिहासिक त्रिशुल छ जुन एशिया महादेशकै सबैभन्दा ठूलो त्रिशुलको रूपमा प्रसिद्ध रहेको छ। त्यस्तै मल्लकालीन कलाले सुसज्जित गजुरले मन्दिरको शोभा बढाएको छ। यस मन्दिरको पश्चिमपट्टि अनेक सुन्दर फूलले सुसज्जित मणिमुकुन्द सेन (प्रथम ) फूलवारि रहेकोको छ जहाँ पर्यटक तस्वीर लिन व्यस्त देखिन्छन् ।
१.४ विकासका संभावना
यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा अझ विकसित गर्न पार्किङको राम्रो व्यवस्था गर्नुपर्ने देखिन्छ । भैरव मन्दिरसम्म पुग्ने सबै बाटो उत्तिकै सुधार गर्नुपर्ने देखिन्छ । यसो गर्न सकिएमा धार्मिक पर्यटनका निम्ति यहाँ आउने पर्यटकको घुँइचो व्यवस्थित गर्न सकिन्छ। साथै, भक्तजनले यथा सम्भव छिटो दर्शन र पूजा गर्न पाउने वातावरण र्सिर्जना गर्न सकिएमा अझ बढी भन्दा बढी पर्यटक आउन सक्छ्न्। पाल्पा भैरवलाई रिब्दीकोट गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्ने योजना अनुरुप काम गर्न सकिएमा भैरवस्थान बजारका बासिन्दाले फूल, प्रसाद, रोट र पूजाका अन्य सामग्री बिक्रीवितरण गरेरै जीवनयापन गर्न सक्छ्न। मन्दिरमा अरु मानिसले रोजगारीको अवसर प्राप्त गर्न सक्छन्। यहाँको मणिमुकुन्द सेन फूलबारीलाई विश्रामस्थल मात्र नभई चलचित्र छायांकन स्थलको रूपमा पनि विकास गर्न सकिन्छ। एउटा बाल उद्यानको निर्माण गर्न सकिएमा बालबालिका खेल्ने र रम्ने वातावरण सिर्जना हुनसक्ने देखिन्छ।
१.५ कसरी पुग्ने ?
भैरव मन्दिरसम्म पुग्नको निम्ति सार्वजनिक यातायात सेवा उपलब्ध छ। तानसेन – तम्घास सडक खण्डको भैरवस्थान लोकमार्गमा ओर्लिएर करिब १० मिनेट पैदल हिँडेपछि मन्दिर पुग्न सकिन्छ। कार, जीप, मोटरसाइकल जस्ता निजी सवारी साधन लिएर पनि मन्दिरसम्म पुग्न सकिन्छ। यो मन्दिरसम्म पुग्नको निम्ति पूर्व, पश्चिम र दक्षिण गरि ३ वटा प्रवेशद्वार छन् । पूर्व र पश्चिमबाट प्रवेश गर्दा करिब १० मिनेट पैदल यात्रा गर्नुपर्ने हुन्छ। यहाँ पैदल यात्राको निम्ति सिमेन्ट लगाएर बनाइएका सिंँढीहरू छन् भने दक्षिणतिरको प्रवेशद्वारबाट सवारी साधन लिएर जान सकिन्छ।
२) जलेश्वर मन्दिर
२.१ परिचय
रिब्दीकोट गाउँपालिका- ५ कुसुमखोलामा अवस्थित जलेश्वर मन्दिर पनि पर्यटनका दृष्टिले महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने देखिएको छ। जिल्ला सदरमुकाम तानसेनदेखि करिब २२ किलोमिटर पश्चिम र भैरवस्थान मन्दिरदेखि करिब १२ किलोमिटर पश्चिम -दक्षिणमा रहेको यो मन्दिर वडा नं ७ को बतासे बजारबाट करिब डेढ किलोमीटर दक्षिणमा पर्दछ। बतासे – ठिमुरे सडक खण्डको देब्रे साइडमा रहेको यो मन्दिरमा महाशिवरात्रीमा मेला लाग्दछ। यो स्थान एउटा प्रसिद्ध वनभोज स्थल पनि हो। यस मन्दिरमा चढाइएको एउटा घण्टमा सम्बत १९८० साल माघ २८ उल्लेख गरिएको देखिएकोले मन्दिर अझ पुरानो हुनुपर्छ भन्ने लाग्दछ। यो मन्दिरको गूठीको नाममा ६५ रोपनी जग्गा रहेको छ। त्यस्तै, यो क्षेत्र साविकका ७ वटा गाविसको खानेपानीको मुहान रहेको क्षेत्र पनि हो।
१.२ धार्मिक तथा ऐतिहासिक विश्वास र मान्यता
यो मन्दिर स्थापना हुनुपछाडी केही किंवदन्ती पाइन्छन्। एउटा विश्वासअनुसार बालपुरी स्वामी पूजाका निम्ति दिनदिनै रिडी गै नुहाउने र जल लिएर आउने गरेकोमा उनलाई दु: ख नहोस् भनी एकरात सपनामा जलेश्वरले दर्शन दिई दीक्षा दिएको र बालपुरी स्वामीले चिम्टा गाडेर जल निकालेको भनाई प्रचलित छ। यहाँ अखण्ड धुनी जलाइन्छ र निभ्न दिइएको छैन। ५२ धुनीमध्ये यहाँको धुनी जेठो मानिन्छ। यहाँ महाशिवरात्रीमा मेला लाग्दछ। मेलाको दिनमा हिन्दू हरूका आराध्य देव शिवजीलाई प्रसन्न पार्नका निम्ति भाङ,धतुरो हालेर प्रसाद तयार पारिन्छ। पन्चामृतमा पनि थोरैमात्र भए पनि भाङ मिसाइएको हुन्छ र सबैलाई त्यो प्रसाद बाँडिन्छ। भजनकृतनका साथै नाचगान गरेर रमाइलो गरिन्छ।
१.३ महत्त्व
जलेश्वर मन्दिर प्राकृतिक तथा धार्मिक दुवै दृष्टिले महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। प्राकृतिक दृष्टिले यो ठाँउ रमाइलो स्थानमा छ भने धार्मिक दृष्टिले महाशिव रात्रीमा यहाँ मेला लाग्दछ। जलेश्वर मन्दिरलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन अहिले गाउँपालिकाले विशेष ध्यान दिएकोले यहाँ मन्दिरको पुन: निर्माण र नवनिर्माणका साथै शिव पार्वतीको मूर्ति र शिवलिङ्गको स्थापना गरिएको छ। निर्माणाधीन १०८ धाराले मुक्तिनाथ पुगेको झल्को दिनेछ। यहाँ जैविक महत्त्वका साथै आर्थिक आम्दानी हुन सक्ने विभिन्न विरुवा रोपिएको छ। यस हिसाबले जलेश्वर मन्दिर आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण रूपमा अघि बढ्ने देखिएको छ। जङ्गलको बीचमा खुला ठाउँमा मन्दिर अवस्थित् रहेकोले यहाँको वातावरण शान्त छ। एकान्त स्थानमा मन्दिर रहेको हुनाले ध्यान, तपस्याका दृष्टिले यो ठाँउ उपयुक्त रहेको छ। बिहानको समयमा जंगली पशुपक्षी जस्तै मृग, स्याल, कालिज आदि देख्न सकिन्छ। पर्यावरणको दृष्टिले पनि यो ठाउँ महत्त्वपूर्ण रहेको छ।
१.४ विकासका संभावना
यहाँ सुन्दर फूलबारीको निर्माण गर्न सकिन्छ। पार्किङको व्यवस्था गर्न सकिन्छ। सेरोफोका विद्यालयबाट विद्यार्थी वनभोज आउने हुनाले यहाँ बाल उद्यानको निर्माण गर्न सकिन्छ। यसले गर्दा विद्यार्थी आउने क्रम बढ्नेछ भने उनीहरूले रम्ने र सिक्ने वातावरण सिर्जना गर्न सकिन्छ। वनभोजको निम्ति आवश्यक वातावरण सिर्जना गर्नुका साथै बिजुलीपानी र चुलाको व्यवस्था गरि वनभोज आउने टोलीसँग शुल्क उठाउन सकिन्छ। प्रवेशद्वारको निर्माण गरेर मन्दिरको जग्गा छुट्याई तारबार गर्न सकिएमा मन्दिरको संरक्षणमा टेवा पुग्ने देखिन्छ।
१.५ कसरी पुग्ने?
यहाँ पुग्नको निम्ति सार्वजनिक यातायात सेवा उपलब्ध छ। हार्थोक- छहरा सडकखण्डको बतासे बजारमा ओर्लिएर करिब आधी घण्टा पैदल हिँडेर पनि यहाँ पुग्न सकिन्छ। सडक छेउ नजिकै रहेको हुनाले ठिमुरे जाने जिपहरूबाट पनि यहाँ पुग्न सकिन्छ। यहाँ पुग्नको निम्ति ग्राभेल गरिएको सडक उपलब्ध छ र निजी सवारी साधन लिएर पनि यहाँ पुग्न सकिन्छ।
३. रिब्दीकोट लेक
रिब्दीकोट गाउँपालिकाको ५ नं वडा कुसुमखोला र ६ नं वडा ठिमुरेको संगमस्थलको रूपमा रहेको यो लेक तानसेनबाट करिब २४ किलोमिटर पश्चिम – दक्षिण तथा गाउँपालिकाको कार्यालय खस्यौलीबाट झण्डै ७ किलोमिटर पश्चिम- दक्षिण अनि वार्ड नं ७ को कार्यालय बतासे बजारबाट झन्डै ३ किलोमीटर दक्षिणमा रहेको छ। समुद्री सतहबाट १८९३.५ मिटर उचाइमा रहेको यो लेक रिब्दीकोट गाउँपालिकाको सबैभन्दा अग्लो लेक हो। ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण यो लेकबाट सेनवंशीय शासन सुरु भएको मानिन्छ। यस डाँडामा धर्मपाल सेनले ई.सं. १४२९ तिर पाल्पा राज्यको स्थापना गरेको इतिहासमा उल्लेख पाइन्छ।यहाँको ऐतिहासिकताका सन्दर्भमा केन्द्रीय तथ्यांक विभाग, तथ्यांक कार्यालय , पाल्पालाई उधृत गरी जलेश्वर मन्दिरमा झुन्ड्याइएको र्यागजिन पेपरमा यस्तो लेखिएको छ- ” भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेनले पैयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ( साविकको फेक गाविस वडा नंं ४) मा लामो समयसम्म बसी पछि रिब्दीकोट ( साविकको कुसुमखोला, पालुङमैनादी र ठिमुरे गाविसहरूको साँध) मा आफ्नो स्वतन्त्र राज्य स्थापना गरे। तानसेन आउनुअघि सेन वंशीय राजाहरू शिलाङ्थोकको नजिक रहेको पुरानकोट ( साविकको भैरवस्थान गाविस ) लाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख पाइन्छ। वि सं १३६३ मा तुथारय सेनदेखि प्रारम्भ भई चन्द्र सेनका छोरा पाल्पा राज्यको सँस्थापक मानिने सेन वंशका दशौँ पुस्ताका राजा रुद्र सेनले वि सं १५६३ मा पाल्पा राज्यको स्थापना गरेका थिए। मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौ ,धनकुटा भोजपुरसम्म पाल्पा राज्यको विस्तार गरेको पाइन्छ। झण्डै ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजाहरूमध्ये पछिल्ला पृथ्वी सेनको पालामा बहादुर शाह र भिमसेन थापाको चतुर्याइँले पाल्पा राज्य वि सं १८६१ मा नेपाल राज्यमा गाभियो ।”
यहाँबाट चारैतिरको रमणीय दृश्य देख्न सकिन्छ। अग्लो स्थानमा रहेको हुनाले रातको समयमा बुटवलको झिलीमिलीका साथै भारतको गोरखपुरसम्म र त्यहाँ रेल चलेको देख्न सकिने भनाइ रहेको छ। यस ठाउँमा निर्माणाधीन मौसमको भविष्यवाणी गर्ने राडारले गर्दा पनि पर्यटकीय आकर्षण झनै बढेको छ। ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण ठाउँ भएर पनि यसको प्रचारप्रसार त्यति हुन सकेको देखिदैन । रिब्दीकोट लेकलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यहाँ एउटा संग्रहालय निर्माण गरि ऐतिहासिक महत्त्वका सामग्री संकलन गरेर प्रदर्शन गर्न सकिन्छ। साथै, नजिकै मगरजातिको बाहुल्य रहेको बस्ती हुनाले यो ठाउँलाई साँस्कृतिक गन्तव्यको रूपमा विकास गर्न सकिन्छ। मगरजातिमा प्रचलित ठूलो नाच, कौरा नाच, झ्याउरे नाच आदि साँस्कृतिक महत्त्वका नाचगान समेतलाई समेटेर होमस्टेको व्यवस्था गर्न सकिएमा यहाँ आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्न सकिन्छ। यसको निम्ति रिब्दीकोट लेक छेउछाउका बस्तीमा होमस्टेको व्यवस्था गर्नुका साथै प्रचारप्रसार गर्नु आवश्यक देखिन्छ ।त्यस्तै, पुरात्तात्विक महत्त्वको यस कोटको संरक्षण गर्नुका साथै ऐतिहासिक अध्ययन हुनु जरुरी छ। यस ठाउँको उत्खनन गरेर पाल्पाली इतिहासमा नयाँ आयाम थप्न सकिन्छ। यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न आवश्यक पूर्वाधारको निर्माण गरि प्रचार प्रसार गर्नुपर्ने देखिन्छ।
यहाँ पुग्नको लागि बतासे- ठिमुरे मोटरबाटो हुँदै करिब १०- १५ मिनेट ग्राभेल गरिएको कच्ची सडकमा यात्रा गर्नुपर्छ। बतासे बजारबाट करिब १ घण्टा पैदल हिँडेर पनि यहाँ पुग्न सकिन्छ। निजी सवारी साधन लिएर पनि यहाँ पुग्न सकिन्छ।
४. छुन्फान डाँडा
रिब्दीकोट गाउँपालिका -८ फेकको पेलाचौरमा अवस्थित छुन्फान डाँडा धार्मिक, ऐतिहासिक एवम् प्राकृतिक दृष्टिले महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना बोकेको ठाउँ हो। रिब्दीकोट गाउँपालिकाको कार्यालयदेखी करिब ३२ किलोमीटर पश्चिम – दक्षिणमा रहेको यो स्थान अत्यन्त रमणीय छ। प्राकृतिक सुन्दरताले परिपूर्ण यो ठाउँबाट पूर्वमा पारीपट्टि प्रसिद्ध रिङ्सिङ्ग लेक देख्न सकिन्छ। रिङ्सिङ लेकबाट छुन्फान डाँडासम्म केवल कार संचालन गर्न सकिन्छ। उत्तरमा बिहान साँझ सुनौला अनि दिउँसोमा सेतै टल्किने हिमालय पर्वतमाला देख्न सकिन्छ। यहाँबाट देख्न सकिने सूर्योदय अनि सूर्यास्तको मनोरम दृश्यले जो कोहीलाई आल्हादित बनाउँछ। यहाँको खुला, फराक चौर फिल्म छायाङ्कनको निम्ति उपयुक्त रहेकोे छ। साहसिक खेलहरु जस्तो दौड अनि साइकल- मोटरसाइकल रेसका निम्ति वातावरण तयार पार्न पनि यहाँको भूगोल उपयुक्त रहेको छ। त्यस्तै, यहाँबाट प्याराग्लाइडिङ्ग गर्न सकिने सम्भावना रहेको हुनाले त्यसको पूर्वाधार तयार गर्न सकिन्छ। शान्त र एकलास ठाउँ हुनाले ध्यानको निम्ति पनि यो स्थान उत्तिकै उपयुक्त रहेको छ। खुला चौरमा फूलबारी निर्माण गर्न सके यो ठाँउ रिब्दीकोट गाउँपालिकाको एउटा प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ । यहाँ कालिका देवीको मन्दिर छ र दशैको पूर्णीमामा मेला लाग्दछ। यहाँ सरायँ नाच हेर्न टाढाटाढाबाट पनि दर्शक आउने गर्दछन। दशैँमा जमरा राख्ने र पूर्णिमामा सेलाउने गरिन्छ। दशैँमा पूजा गरिने र पूर्णीमामा मेला लाग्ने प्रायः सबै मन्दिरको पूजाविधी उस्तै हुने गर्दछ। यहाँ पुग्नको निम्ति कहींँ पिच गरिएको, कहींँ ग्राभेल गरिएको त कहीँ कच्ची बाटोको यात्रा गर्नुपर्ने हुन्छ। गाउँपालिकाको कार्यालय खस्यौलीदेखि कुसुमखोला, बतासे, भालुखान, अम्लाबास, छहरा हुँदै म्यालढाप पुगेपछि दक्षिणतर्फको यात्रा गर्नुपर्ने हुन्छ।
५. योगीकुटी
रिब्दीकोट-७ मैनादीमा रहेको योगीकुटी जिल्ला सदरमुकाम तानसेनबाट करिब २३ किलोमीटर पश्चिममा पर्दछ। यहाँ धेरै पहिले योगीहरू आएर बसेका हुनाले योगीकुटी नाम रहेको भन्ने भनाइ रहेको छ। करिब १२ रोपनी जगाको वरिपरि चारैतिर पर्खाल लगाई आँप, स्वामी, पीपल अनि वर लगाई सुन्दर बगैचा निर्माण गरिएको हुनाले यो ठाँउ रमणीय छ। वि. सं. २०४३ चैत १३ मा ठूलो हावाहुरी आएको र त्यसले गर्दा यस ठाउँको एउटा ठूलो स्वामीको रुख ढलेको तथा त्यो स्वामीको रुख करिब ४ वर्षसम्म त्यतिकै रहेकोमा वि.सं. २०४३ श्रावण ६ गते राती भयंकर आवाज आएको र पछि स्थानीय बासिन्दा त्यहाँ हेर्न जाँदा वर्षौँदेखी ढलिराखेको स्वामी पहिलेकै ठाँउमा जस्ताको तस्तै गरि उठेको देखे। यसरी ढलेको स्वामी उठेपछि मानिसहरू आश्चर्य चकित परे। पक्कै पनि कुनै दैवी शक्तिले गर्दा यस्तो चमत्कार भएको भन्ने ठानी विभिन्न विश्लेषण हुँदा अन्तमा रैनादेवीको शक्तिले गर्दा उक्त ढलेको स्वामी उठेको मानेर उक्त स्वामीको रुख नजिकै कालिकाको मन्दिर स्थापना गरिएको हुनाले प्रत्येक वर्ष यहाँ चैते दशैमा भव्य मेला लाग्दछ। कालरात्रीको राती स्थानीय मानिसहरू बाजागाजा सहित नाचगान गर्दछ्न। चैते दशैको समयमा दस दिनसम्म बिहानबिहानमा दमाहा बजाएर पूजा गर्ने चलन छ। चैते दशैको दिन बिहानैदेखि नै पूजाआजा गरि राँगाको बलि दिइन्छ। स्थानीयका साथै टाढाटाढाबाट आएका भक्तजनले रोट प्रसाद चढाउँछन। दिउँसो सरायँ नाच नाचिन्छ। मन्दिरको ३ पटक परिक्रमा गरेर नजिकै रहेको प्राङ्गणमा खरी (तरवार हात्मा लिएर नाचिने एक विशेष प्रकारको नाच) खेलिन्छ। मन्दिरका पुजेरी सरायँ नाचसङ्गै खाली खुट्टा हिडँदछन। उनको हातमा बलिरहेको अगरबत्ती, ध्वजा र रेखीले सिँगारिएको एउटा कुभिण्डो हुन्छ। केवल एउटा धोतीको भरमा पुजेरी नाङ्गै घुम्दछन्। पूजा विसर्जन गर्नुअघि पुजेरीले कुभिण्डोलाई दुई टुक्रा पार्दछ्न र जमरा सेलाउँछन। त्यसपछि पूजा समाप्त भएको मानिन्छ। तर समय रहेको खण्ड्मा मानिसहरू बाजाको तालमा नाचगान गर्दछ्न। पूजा विसर्जन गरिसकेपछि तरवारहरू थन्क्याउने काम गरिन्छ। चैते दशैँमा मेला लाग्ने यो रिब्दीकोटको एकमात्र मन्दिर हो। यहाँ मगर जातिका पुजेरीबाट पूजा गरिने प्रचलन छ। तर अहिले बिहानको नित्य पूजापाठको निम्ति एकजना ब्राह्मण पुजेरी नियुक्त गरिएको छ। अहिले कालिका देवीको मन्दिर पुन: निर्माण गरि सिङ्गमर्मर लगाइएकोले मन्दिर अत्यन्त आकर्षक बनेको छ। त्यस्तै मन्दिर प्रवेश गर्ने प्रवेशद्वारदेखि लिएर मन्दिरसम्मै दुबैतिर फूल रोपिएको छ भने बाटो ब्लकले छापिएको छ। प्रचार प्रसारको अभावमा ओझेलमा परेको यो ठाउँ गाउँपालिकाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ। यहाँ पुग्नको निम्ति गाँउपालिकाको कार्यालयदेखि करिब १२ किलोमीटर पश्चिमतर्फको यात्रा गर्नुपर्ने हुन्छ। कुसुमखोला पुगेपछि मैनादी जाने ग्राभेल गरिएको बाटोमा करिब ७ किलोमिटर यात्रा गरेपछि योगीकुटी कालिका मन्दिर पुग्न सकिन्छ ।
६. रिङसिङ्ग पहाड
प्रचारप्रसारको अभावमा ओझेलमा परेको रिङ्सिङ्ग पहाड साविकका ठिमुरे, पालुङ्गमैनादी र फेकको सङ्गमस्थल हो। रिब्दीकोट गाउंँपालिकाको कार्यालयबाट झण्डै २० किलोमिटर पश्चिम – उत्तरमा रहेको यो ठाउँ सामरिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यहाँ भुरे राजा बसोबास गरेको मानिएको छ र ती राजाका पालाका पुरातात्त्विक सामानका साथै मूर्ति, घण्टा तथा त्रिशुल भेटिने बताइन्छ। यो ठाउँ जङ्गलले ढाकिएको छ र यहाँ प्रत्येक रुखैपिच्छे थुप्रै घण्टीहरू र थुप्रै त्रिशुलहरू रहेको देख्न सकिन्छ। चौबिसे राज्य रहेको समयमा युद्धस्थल वा राजा सुरक्षित रहनबस्न प्रयोग भएको मानिने यो ठाउँमा अत्यन्त ठुलो खड्करो थियोे भन्ने भनाइ रहेको छ। रिब्दीकोट-८ फेकमा रहेको मैदानदेवी मन्दिरबाट करिब एक घण्टा पैदल हिंडेर पुग्न सकिने यो ठाउँबाट तराइका विभिन्न ठाउँ, अर्घाखाँची जिल्लाका केही ठाउँ र तिनाउँका साथै कपिलवस्तु जिल्लाका केही भाग अवलोकन गर्न सकिन्छ। पहाडको टुप्पोमा सम्म चौर रहेको यो ठाउँमा छ्डका टुक्रा भेटिने र छडका ती टुक्रा तत्कालीन राजाले आफ्नो झण्डा फहराउन गाडेको हुनसक्ने अनुमान गरिएको छ। यहाँबाट अलि पर सम्म चौर रहेको छ- जसलाई स्थानीयले टुँडिखेल भन्दछन। त्यस्तै यहाँ गुफा रहेको छ भने अलि तल रहेको मैदानदेवी मन्दिरमा प्रत्येक वर्ष न्वागीमा पूजा हुन्छ। किसानले भर्खरभर्खर स्याहारेको धान यहाँ चढाएर मात्र खान सुरु गरिन्छ। न्वागीको दिन दही चामल बनाएर खाने चलन छ। यहाँ नजिकैका विद्यालयले विद्यार्थीलाई परियोजना कार्य, वनभोज र स्थलगत अध्ययनअवलोकनका निम्ति लिएर जाने गर्दछन। यहाँसम्म पुग्नको निम्ति मोटरबाटोको सुविधा भएमा यो ठाउँको विकास र प्रचारप्रसार गर्न तथा रिब्दीकोट गाउँपालिकाको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा यो ठाउँको विकास गर्न सकिने देखिन्छ ।
७. छत्र देवालय
यो मन्दिर रिब्दीकोट-१ ख्याहामा रहेको छ। जिल्ला सदरमुकाम तानसेनदेखि करिब २२ किलोमिटर पश्चिम -उत्तरमा रहेको यो मन्दिरमा दशैको पूर्णीमामा मेला लाग्दछ। यहाँको सरायँ नाच जिल्लामै प्रख्यात छ।यो मन्दिरको स्थापना २०१५ सालमा भएको हो। पहाडको टाकुरो जो अन्तमा समथर छ, त्यही यो मन्दिर रहेको छ। यहाँ दशैमा जमरा राखिन्छ र दशैँको पूर्णीमासम्म पूजा गरिन्छ। यहाँको पूजाविधी दशैमा मेला लाग्ने अन्य मन्दिरमा जस्तै रहेको छ। पूर्णीमाको दिन जमरा सेलाएपछी पूजा सकिन्छ। यहाँ पुग्नको निम्ति गाउँपालिकाको कार्यालय खस्यौलीदेखी करिब १०० मिटर पूर्व र बाँकी सबै यात्रा उत्तर हुँदै पश्चिमतर्फ गर्नुपर्दछ। कतै पिच, कतै ग्राभेल त कतै कच्ची बाटो हुँदै करिब १२ किलोमिटर यात्रा गरेपछि यस मन्दिरसम्म पुग्न सकिन्छ।
८. सेल्फी डाँडो
रिब्दीकोट-१ ख्याहामा रहेको सेल्फी डाँडो गाउँपालिका कार्यालयबाट करिव ९ किलोमिटर उत्तरमा रहेको छ। लिस्नेभिरको टुप्पोमा ढुङ्गा र सिमेन्टको प्रयोग गरि सेल्फी खिच्न मिल्ने सानो चुच्चोजस्तो बनाइएको छ जहाँबाट उत्तरमा तल नीलो, शान्त तवरले बग्दै गरेको कालीगण्डकी नदी देख्न सकिन्छ। त्यस्तै सुन्दर अर्गली फाँट र पारीपट्टी गुल्मी जिल्लाको रिडी बजारका साथै अन्य स्थान अवलोकन गर्न सकिन्छ। अत्यन्त डरलाग्दो लिस्नेभिर हेर्दा आङ नै सिरिङ्ग हुन्छ। अचेल यो ठाउँ पर्यटकीय आकर्षणको गन्तव्य बनेको छ। मानिसहरू यहाँ पुगेर सेल्फी लिने भएकोले नै यसको नाम सेल्फी डाँडो रहेको हो।चारैतिरको रमणीय दृश्य देख्न सकिने भएकोले यो ठाउँ रमाइलो छ। यहाँ पुग्दा मन प्रफुल्ल हुन्छ।
टुङ्ग्याउनी
रिब्दीकोट गाउँपालिका चिनाउने प्रमुख पर्यटकीय गन्तव्यको बारेमा लेख्दै गर्दा रिब्दीकोट-२ देउरालीमा रहेका मन्दिर तथा गुफाहरू, रिब्दीकोट -७ बतासेमा रहेको कालिका मन्दिर लगायतका थुप्रै ठाउँको नाम उल्लेख गर्न सकिन्छ। अरु कति स्थानविशेष सूचना र जानकारीको अभावमा ओझेलमा परेका वा यस आलेखामा छुटेका हुन सक्छन् । एउटा छोटो लेखमा सबै पर्यटकीय गन्तव्यको विस्तृत उल्लेख गर्नु सम्भव नभएकोले यसतर्फ सम्बन्धित सबैको चासो पुग्नु जरुरी छ। यस क्षेत्रका पर्यटकीय गन्तव्यको कुरा गर्दा प्रायः मन्दिर मात्रको प्रसङ्ग आएको वा धार्मिक पर्यटनको मात्रै प्रसङ्ग आएको देखिएकोले अन्य किसिममा पर्यटकीय गन्तव्यको विकासमा गाउँपालिका लगायत सम्बन्धित सबैले चासो लिएर अग्रसर हुनुपर्ने देखिएको छ। अन्तमा यो लेख सम्पूर्ण गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु र हार्दिक कृतज्ञता व्यक्त गर्दै अहिलेलाई म यहीँ रोकिन्छु।(रिब्दीकोट गाउँपालिकामा प्रथम भएको यो लेख यस क्षेत्रको पर्यटनको बिकासलाई सहयोग पुग्ने भएकोले राखिएको हो ।- सम्पादक)
|
|