चित्रकलामै पाल्पालीको आकर्षण

पाल्पा । एउटा हातको चिम्टाले घोच्दै र अर्को हातको ढुङ्रो फुकिरहेका किशोरले कोइला बालिरहेका छन्। उनकै अगाडि करिब ५५ वर्षका पुरुष सुनको गहना बनाउन व्यस्त छन्। काम गरिरहेको कोठाको कतै परम्परागत शैलीका सुनचाँदीका गहना त कतै जिल्लाका रमणीयस्थलका चित्र प्रशस्तै छन् ।

कोरिएका निकै आकर्षक ती चित्रले जो कोहीको पनि मन लोभ्याउँछ। ती तानसेन–१, गैरागाउँका राजकुमार खड्का अहिले सुनचाँदीको काम छाडेर चित्र कोर्न व्यस्त छन्। सुनचाँदी प्रशस्त आम्दानी हुने व्यवसाय भएकाले यहाँका व्यावसायीलाई अन्य पेशामा रुचि हुँदैन तर उनी भने चित्रकलामै बढी सक्रिय छन् ।

वैदेशिक रोजगारीबाट फर्केपछि खड्काले विसं २०७२ देखि उक्त व्यवसाय गरे पनि चित्रकलामा पनि उत्तिकै चासो भएकाले फुर्सदमा चित्र कोर्थे। रङ्गको प्रयोग गरिएका चित्रकलाले उत्साही त बनायो फेरी सामाजिक सञ्जालमा राखेपछि आफूलाई काम गर्न थप हौसला मिलेकोे उनको भनाइ छ ।

अहिले पाल्पाको पर्यटन क्षेत्रको विकासका निम्ति रानमीहल, अमरनारायण र तानसेनको पुरानो तथा नयाँ शहरको चित्र कोरिसकेका खडकाले यसबाट जिल्लाका पर्यटन क्षेत्रको थप प्रचार हुने अपेक्षा गरेका छन्। उनले भने, “जातीय व्यवस्था अन्त्यका लागि सचेत गराउने चित्र बनाउने रुचि छ। शान्तिका प्रतिक गौतम बुद्ध, सामाजिक रुपान्तरणका अभियानकर्मी, साधु र वृद्ध महिला तथा पुरुषको चित्र पनि विशेष रुचिका साथ कोरिरहेको छु ।”

चित्रले प्राय विचार पनि बोकेको हुन्छ । प्रत्येक चित्रका अर्थ फरकफरक हुन्छन्। पहिला प्राकृतिक चित्र धेरै कोरिएकामा अहिले त्यसमा केही नयाँपन थपिएको छ। चित्रलाई थप आकर्षक बनाउन कल्पनिक चित्रसमेत कोरिने चलन बढ्दो छ। यहाँ बसेर चित्र कोर्न त्यति सजिलो छैन ।

यसका लागि रङ्ग, बुरुस, कागज र कपडा चाहिन्छ तर यहाँ ती सामान नपाइने भएकाले बुटवलबाट ल्याउन महँगो पर्छ। काठमाडौँबाट ल्याउन अलि सस्तो पर्छ। युरोप र चीनबाट ल्याएका सामान गुणस्तरीय हुनाका साथै कोरिएको चित्रको मूल्य पनि उच्च हुने खडकाको भनाइ छ । तानसेन–३ वसन्तपुरका राजु रुचाल पनि चित्रकलामा माहिर छन्। छिटृै चित्र कोरिदिन सक्ने उहाँ पनि कतार र मलेसिया बसाइ पछि स्वदेश फर्किएका हुन् ।

मामाको ब्यानर बनाउने कामलाई निरन्तरता दिँदा दिँदै चित्रकलालाई नै आफ्नो व्यावसाय बनाएको रुचाल बताउँछन्। पाँच वर्षदेखि व्यावसायिकरुपमा चित्र कोर्दै आएका उनी अहिले मासिक रू ५० हजारसम्म आम्दानी गर्दै आएको बताउँछन् ।

“चित्रको मूल्य यति नै हो भन्ने छैन, रू एक हजारदेखि रू ४० हजारसम्म पर्छ । विशेष गरी आकिलिन र वाटर कलरको प्रयोग गरी चित्र कोर्ने गरेको छु। सानो चित्रलाई कम मूल्य र ठूलोलाई धेरै भन्ने छैन । मेहनतका आधारमा नै पैसाको निर्धारण हुँदै आएको छ”, रुचाल भन्छन् ।

उनका अनुसार हिमाल र पहाड झल्किने चित्र, तानसेनका ऐतिहासिक सम्पदा र मानिसको चित्र मागका आधारमा कोर्ने गरिन्छ। “जे देखियो त्यही पनि बनाउन सकिन्छ तर त्यसमा विशेष अर्थ झल्किनु पर्छ”, रुचाल भन्छन्, “विदेशमा कला समीक्षकबाट कलाको समीक्षा हुँदै आएको छ तर नेपालमा अझै समीक्षा गर्ने चलनको विकास हुन सकेको छैन ।”

नेपालमा व्यावसायिकरुपमा कलाको विकासका लागि सरकारले चासो दिएको छैन। विदेशमा चित्रकलासम्बन्धी अध्ययन–अध्यापन हुँदै आए पनि काठमाडौमा  पठन पाठन हुन्छ । जिल्लाजिल्लामा भने तालिमसमेत सञ्चालन हुन नसकेकामा यहाँका चित्रकारको गुनासो छ ।

स्थानीय सरकारले अन्य क्षेत्रको विकासका लागि बजेटको व्यवस्था गरेकामा पर्यटकीय क्षेत्रको विकासका लागि चित्रकलालाई पनि महत्वका साथ योजनामा राखेर कार्यान्वयन गराए आफूहरूको सम्मान हुने उनीहरूको जिकिर छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer