
पाल्पा । बाँदरले उत्पादित अन्नबालीमा नोक्सानी गर्न थालेसँगै यहाँका किसानहरु हैरानीमा परेपछि गोलभेँडा खेतीमा आकर्षित भएका छन् । जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा बाँदरले नोक्सानी नगर्ने तरकारी, फलफुल खेतीतर्फ लागेका छन् ।
पाल्पाका अधिकाँश स्थानीय तहमा उत्पादित अन्नबाली बाँदरले नोक्सानी गरेपछि हैरानीमा रहेका थिए । सामुदायिक वन संरक्षणले बन्यजन्तुको सख्या बढेका छन् । मानव बस्ती नजिकै लोपउन्मुख जनाबरहरु अहिले देखिन थालेको किसानको दावी छ । बाँदरर बदेँल, दुम्सी लगायतका जनारका कारण कृषि उत्पादनमा नोक्सानी भएको छ ।
वन क्षेत्र नजिकै रहेका मानव बस्तीमा तथा उत्पादित क्षेत्रका किसानहरु दोहोरो मर्का भोगेका छन् । किसानले उत्पादित मकै बाँदरले खेतबारीमा मात्र होइन, घरमा नै पसेर नोक्सानी गर्न थालेपछि यहाँ किसानले बाँदरले नोक्सानी न्यून गर्नेे गोलभेँडा खेतीप्रति आर्किर्षत भएको रैनादेवी छहरा गाउँपालिका ५ मुझुङगका विन बहादुर दर्नालको गुनासो छ ।
५।७ रोपनीमा मकै खेती गर्ने दर्नालले अहिले व्यावसायिक रुपमा गोलभेँडा खेतीमा लागिपरेका हुन । मकैबालीमा बाँदरले नोक्सानी गरेर घर भित्र्याउन नै समस्या भएपछि व्यावसायिक रुपमा गोलभेँडा खेतीमा लागिएको उनले बताए ।
गोलभेडाबाट राम्रो आम्दानी र बाँदरको पनि समस्या नहुने भएपछि मकै बाली खेती प्रति आकर्षण घटेको उहाँले बताए । यहाँका सय भन्दा बढी दलित तथा गैरदलित समुदायका मानिसहरु अहिले मकै खेती छाडेर गोलभेँडा खेतीप्रति आकर्षित भएका हुन ।
बाँदरले मकै, सिमी, गोपी, धान बालीमा क्षति गर्छ । बाँदरले खुर्सानी, अदुवा, कागती लगायतमा नोक्सानी नै गर्दैन । कोरोनाले अधिकाँश युवाहरु भारतमा रोजगारी गुमाएकाहरु घर फर्केका छन् । भारतबाट घर फर्केका युवाहरु पनि अहिले व्यवसायिक रुपमा गोलभँेडा खेतीमा मेहनत गरी पैसा कमाउने योजनामा छन् । स्थानीय सुर्य बहादुर दर्नालले भारतमा रोजागरी गुमाएर दुई महिनामा घर फर्केर गोलभेँडा र खुर्सानी खेतीमा लागिएको बताए ।
किसानले मेहनत गरी उत्पादित अन्नवाली बन्यजन्तुले नोक्सानी गर्दा प्रतिफल नै प्राप्ति हुँदैन । पाल्पाका अधिकाँश स्थानीय तहमा मेहनत अनुसारको प्रतिफल प्राप्ति नहुने किसानहरु बन्यजन्तुले क्षति नहुने अन्नवाली तथा फलफुल खेतीप्रति आकर्षित भएका हुन ।
रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बाँदरबाट प्रभावित किसानका लागि नोक्सानी नहुने अन्नवाली तथा फलफूल प्रति आकर्षित गर्ने कार्यक्रम ल्याएको बताए ।उनले खुर्सानी, कागती लगायतका बाँदरको समस्या नहुने र गोलभेँडामा न्यून क्षति हुने तरकारीबालीमा प्रोत्साहन गरिएको बताए ।