
तानसेन। तानसेन नगरपालिका वडा ११ बाँझाका महिलाहरुले सामुहिक गुन्द्रुक, मस्यौरा र तितौरा उत्पादनबाट यो वर्ष मात्रै २५ हजारबढी आम्दानी लिएका छन् ।
आफ्नै करेसाबारीमा उत्पादन हुने कच्चा पर्दाथको प्रयोग गरी खाली समयमा उत्पादन सुरु गरेका महिलाहरुले यसलाई व्यवसायिक रुपमा नै लैजाने सोच बनाएका छन् ।
८ जनाको महिला समूहले खाली समयमा घरमै बसेर उतपालन लिन सफल भएका हुन् ।
पछिल्ला वर्षहरुमा पहाडी जिल्लाहरुमा उत्पादन हुने फर्सी, मुला कर्कलोलगायतका बस्तुको प्रयोगबाट महिलाहरुले गुन्द्रुक, मस्यौरा र तितौराको उत्पादन सुरु गरेको बताएका छन् ।
घरायसी काम सकेर पनि यो व्यवसायबाट आम्दानी दिन सकिने भएपछि उनीहरुले यसको विस्तार गर्ने सोच बनाएको समूही सदस्य सुनीता बोहोराले बताइन् ।
व्यक्तिगत तथा सामुहिक रुपमा यो व्यवसाय जिल्लाका अन्य स्थानमा पनि सुरु भएको छ । घरमा खानका लागि मात्रै उत्पादन गर्दै आएका यहाँका स्थानीयले अहिले माग र बजारको व्यवस्था भएपछि व्यवसायिक उत्पादन गर्न थालेका हुन् ।
खासगरी जाडोको समयमा सुप, तरकारी तथा अचारका रुपमा प्रयोग हुने यी बस्तुको सेवनले स्वास्थ्यमा कुनै नकारात्मक असर नपर्ने हुँदा बजार माग पनि बढेको स्थानीयलको भनाई छ ।
पछिल्लो समय गुन्द्रुकको स्वादको परखीहरु गाउँ हुदै शहरी क्षेत्रमा समेत बढ्न थाले पछि यसको माग र बजार बढेको पाइएको छ । पाल्पामा उत्पादित गुन्द्रुक प्रति केलिो ८ सय देखि १ हजारसम्ममा विक्री हुने गरेको स्थानीयको भनाई छ ।
सहज उत्पादन, बढ्दो माग र राम्रो मुल्यको कारण गुन्द्रुक सिन्की उत्पादन पाल्पाका स्थानीयहरु राम्रो व्यवसाय बनिरहेको छ। तर व्यवस्थित बजारीकरण नहुदा सम्पर्कको आधारमा मात्र बिक्री वितरण गर्नपर्ने बाध्यता रहेको किसानहरु बताउछन् ।
पछिल्लो समय स्वदेश मात्रै नभएर विदेशमा समेत यस्ता वस्तुको माग बढेको हुँदा स्थानीय तहहरुले व्यवस्थापन गरेर उत्पादनमा वृद्धि र विदेशमा निर्यातको व्यवस्था गर्न सके यसलाई राम्रो आम्दानीको स्रोत बनाउन सकिने किसानहरुले बताएका छन् ।