पुरुषोत्तम गैरे पाल्पाली कलाकार हुन् । बगनासकाली गाउँपालिका –६ यम्घा स्थायी घर भएका गैरे विगत १३ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । र, सांगीतिक क्षेत्रबाटै आफ्नो पहिचान बनाईसकेका छन् । ‘बादलमाथि घामकै छायाँ हो’ उनको पहिलो गीत हो, जुन गीत गैरेले गायिका देवी घर्तीसँग गाएका थिए । त्यसयता गैरेको स्वर रहेका एकसय भन्दा बढी गीतहरु सार्वजनिक भैसकेका छन् । ‘बुटवल तनहुँ खैरेनी’, ‘जाले रुमाल बैना’ , ‘पिंजडाको चरी’ केही गीतका उदाहरण हुन् । पछिल्लो समय उनले आफ्नो सांगीतिक सक्रियतालाई निकै बढाएका छन् ।
नयाँधारसँगको कुराकानीमा उनले भने, –‘पछिल्लो दुई वर्षयता निरन्तर गीतहरु ल्याईरहेको छु । डेढ/दुई महिनाको अन्तरमा नयाँ-नयाँ गीत ल्याउँदै आएको छु ।’
केही दिनअघि मात्रै गायक गैरेले पाल्पा जिल्लाका विभिन्न पहिचानलाई समेटेर ‘पाल्पाली ढाका’बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत ल्याउनुको उद्धेश्य, गीतले पाएको प्रतिक्रियासँगै उनको सांगीतिक यात्रा, आगामी योजना लगायतका विषयमा नयाँधार अनलाईनले कुराकानी गरेको छ ।
केही दिनअघि मात्रै ‘पाल्पाली ढाका’बोलको पाल्पा जिल्लासँग जोडिएको गीत सार्वजनिक गर्नुभयो । गीतलाई लिएर पाल्पाबासीसँगै अन्य स्रोता एवं दर्शकले कस्तो प्रतिक्रिया दिनुभएको छ ?
पाल्पालाई चिनाउने अनेक विशेषताहरु छन् । यो प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । त्यसमध्ये ढाका पाल्पाको विशेष चिनारी हो । गीतको नाम विशेष चिनारीका रुपमा रहेको ढाकाको नाममा राखिएपछि यसभित्र पाल्पाका अधिकांश चिनारी एवं विशेषताहरुलाई जोडिएको छ । सोहीकारण पनि गीतलाई लिएर धेरैले एकदमै सकारात्मक प्रतिक्रियाहरु दिनुभएको छ । अन्य व्यवसायिक गीतहरु जस्तो यसको भ्यूज नगएपनि यसलाई लिएर पाएको प्रतिक्रियाले एकदमै सन्तुष्ट छु ।
[‘पाल्पाली ढाका’ गीतको विमोचन]
जिल्ला विशेष गीतहरु अन्यजस्तो व्यवसायिक रुपमा सफल मानिदैनन् । तरपनि तपाईले पाल्पा जिल्लालाई जोडेर गीत ल्याउनुभयो । यस गीत ल्याउनुको उद्धेश्य के हो ?
म आफू पाल्पामा जन्मिएको कलाकार । अन्य गीतहरु सिर्जना गरिरहँदा, गाईरहँदा आफू जन्मिएको माटोको विषयमा पनि गीत गरौं भन्ने सोँच पहिलेदेखिकै थियो । म गीतसंगीत क्षेत्रमा रहेपछि संगीतको माध्यमबाट आफ्नो गाउँ ठाउँलाई जति सकिन्छ चिनाउनु आफ्नो दायित्व पनि त हुन आउँछ । यो गीत हेरिसकेपछि जोकोहीलाई पाल्पा पुगौं लागोस् भन्ने नै गीत ल्याउनुको उद्धेश्य हो । गीतका कारण केही मात्रै भएपनि थप पर्यटकहरु पाल्पामा आए भने त्यसलाई गीतको सफलताका रुपमा लिन्छु ।
जिल्ला चिनाउने धेरै कुराहरुलाई गीतमा जोडनुभएको छ । गीत तयारी गर्न कति समय लाग्यो ?
यस्तो गीत गर्नुपर्छ भन्ने सोँ त एक वर्ष अगाडिदेखि आएको हो । एकवर्ष अगाडिदेखि नै गीत लेख्न शुरु गरेको थिएँ । लेख्दै गएपछि अन्य व्यक्तित्वहरुसँग सर–सल्लाह गर्दै अगाडि बढेको हो । यस गीतमा मात्रै ध्यान दिएर काम गर्न थालपछि ३ महिना पुरा लाग्यो । किनकी जिल्लाको गाउँ–गाउँमा पुगेर यसको भिडियो छायाँकन गर्ने काम गरिएको छ । जनप्रतिनिधी, स्थानीयहरुसँग प्रतिक्रिया लिने कामहरु गरिएको छ ।
यस गीतमा पाल्पा चिनाउने कुराहरु मात्र छैन्, गाउने गायक–गायिकाहरु पनि पाल्पालीहरु नै हुनुहुन्छ । अग्रजदेखि समकालिन गायक–गायिकाहरुले गाउनुभएको छ । उहाँहरुले गीत गाउनुअघि गीतलाई लिएर कस्तो प्रतिक्रिया दिनुभएको थियो ?
आदरणीय नारायण रायमाझी दाईलाई ‘यस्तो गीत छ’ भन्नेवित्तिकै आफ्नो माटो सम्झनुभयो भन्ने लाग्छ । उहाँले तत्कालै सकारात्मक प्रतिक्रिया दिनुभयो । उहाँले मलाई शुभकामना पनि दिनुभएको थियो । सेमन्तमणि खराल, कमला पोखरेल, जमुना राना, धनमाया दिशुवा मगर लगायतले पनि एकदमै सकारात्मक रुपमा स्वीकार्नुभयो । यसका लागि सबैलाई फेरी पनि धन्यवाद दिन चाहान्छु ।
तपाईलाई सांगीतिक क्षेत्रमा लाग्ने वातावरण कसरी मिल्यो ? के कुराले प्रेरित गर्यो ?
म सानैदेखि नै गीतसंगीत क्षेत्रमा रुचि राख्थेँ । कतिसम्म भने सानैमा मैले तानसेन आएर किबोर्ड समेत किनेर लगेको थिएँ । त्यो बेला त्यस्तै कक्षा ४ मा पढ्थेँ होला, अहिले अलिअलि मात्रै याद छ । त्यो भन्दा अगाडि मैले बाँसुरी बनाउने, बजाउने गर्थें । कसरी प्रेरित भएँ भन्नेमा चाहीँ रेडियोको प्रभाव मान्छु । रेडियोमा गीतहरु एकदमै सुन्ने गर्थे ।
पहिलो गीत कति सालमा गाउनुभयो ?
वि.स. २०६५ सालमा हो । त्यो बेला अडियो क्यासेटको जमाना थियो । देवी घर्तीसँग गाएको ‘बादलमाथि घामकै छायाँ हो’ पहिलो गीत हो ।
पहिलो गीत कत्तिको चल्यो ? त्यसयता कति गीत गाउनुभयो ?
सुरुवाती समय । मैले पुर्याउनुपर्ने कुराहरु पुर्याउन सकिन् होला त्यसैले पहिलो गीत त्यति राम्रो भएन् । त्यसले गीत ल्याउने तरीका यो रहेछ भन्ने कुरा सिकायो भन्छु । त्यसपछि २०६९/७० सालतिर ‘बुटवल तनहुँ खैरेनी’ बोलको गीत गरेँ । आफ्नै लय, शब्दमा देवी घर्ती र मैले गाएको यो गीतलाई भने स्रोता एवं दर्शकले रुचाईदिनुभयो । त्यसयताका ‘पिंजडाको चरी’, ‘जाले रुमाल बैना’ जस्ता धेरै गीतहरु स्रोता एवं दर्शकले रुचाईदिनुभएको छ ।
पछिल्लो समय सांगीतिक क्षेत्रमा अलि बढी सक्रिय रहनुभएको हो ?
हो । पछिल्लो दुई वर्षयता सांगीतिक क्षेत्रमा सक्रियता एकदमै बढाएको छु । निरन्तर एकपछि अर्को नयाँ-नयाँ स्वादका गीतहरु ल्याईरहेको छु । अहिले औसतमा डेढ /दुई महिनाको अन्तरमा नयाँ नयाँ गीत ल्याउँदै आएको छु । जुन आफैमा पनि चुनौतीको कुरा पनि हो ।
अब लगत्तै आउने गीतहरु भए त्यसबारे जानकारी गराईदिनुहोस् न !
केही दिनमा ‘सुधार केन्द्र’ बोलको गीत आउँदैछ । यो मार्मिक खालको गीत हो । रेकर्ड भैसकेको गीतको भिडियो निर्माणको काम बाँकी छ । यो गीतमा विमल पौडेलको शब्द छ । मेरो संगीत रहेको गीत लोकप्रिय गायिका शान्तीश्री परियारसँग गाएको छु ।