रामपुर नगर भित्र भू-उपयोग वर्गीकरण सकियो

तानसेन। रामपुर नगपालिकाले नगर भित्रका जग्गाको भूउपयोग क्षेत्र वर्गीकरण सकिएको छ । भू-उपयोग परिषद्को बैठकले नगर भित्रका जग्गाको वर्गीकरण  गरेको हो ।

बैठकले नगर भित्रका जग्गाको आवास क्षेत्र, कृषि क्षेत्र , व्यवसायीक क्षेत्र , औद्योगिक क्षेत्रलगायतका क्षेत्र निर्धारण गरेको छ ।  बैठकले ६ मिटर चौडाई भएको बाटोको दाँया-बाँया ५० मिटर , ८ मिटर बाटोको दाँया-बाँया ७० मिटर, १० मिटर बाटोको दाँया-बाँया ८० मिटर  र १० मिटर भन्दा माथीका मापदण्ड भएका बाटोको दाँया-बाँया १०० मिटरसम्म आवासीय क्षेत्र निर्धारण गरेको छ ।

अंशबण्डा गर्दा आवास थप्नु पर्ने भए आपसी समझदारीमा मापदण्ड अनुसार बाटो विस्तार गरि आवास बनाउन सकिने निर्णय गरेको छ । साथै प्रयोगमा आएको चर श्रेस्ता कायम नभएको बाटोको मापदण्ड कायम गरि बाटो सार्वजनिक गर्न सकिने भएको छ ।

नगरपालिका अन्तर्गत  समथर भू–भाग छोडी अन्य पहाडी क्षेत्रमा बाटोको ३० मिटर दाँया बाँया क्षेत्रलाई आवासीय क्षेत्र तोकेको छ । यसैगरी  कालिगण्डकी करिडोर सडकबाट एक सय मिटर दाँया-बाँयाको क्षेत्रलाई व्यवसायीक क्षेत्र तोकेको छ भने रामपुर नगरपालिका वडा नं. ७ किसानबारी देखि तुरुन्दी खोला सम्मको मुलबाटोमा पर्ने विरेन्द्रटारको उत्तर तर्फको ९६ रोपनी जग्गालाई औद्योगिक क्षेत्र निर्धारण गरेको छ ।

यस्तै नगर भित्र रहेका खानी तथा खनिज क्षेत्र , नदी , खोला , ताल , सिमसार क्षेत्र , सार्वजनिक उपयोगको क्षेत्र , सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र बाहेकका अन्य क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरेको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख तथा भूउपयोग परिषदका अध्यक्ष रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले  भूउपयोग वर्गीकरण सम्बन्धी कुनै फैसला अदालतबाट भएर आएमा सोही बमोजिम कार्यान्वयन गर्ने  निर्णय गरेको छ । विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरि जग्गाको वर्गीकरण गरिएको हो ।

जग्गाको वर्गीकरण गरि नगरपालिकाले संघमा पेश गरेको छ । संघबाट स्विकृत भई आएमा नगरभित्रका जग्गाको किट्टाकाट गरि विक्री गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया