छहरामा निकालियाे ‘दमिनी सरायँ’

तानसेन।  पश्चिम पाल्पाको रैनादेवी छहराको वडा नं-४ बोखरडाडाँबाट निकालिने नेपालमै पृथक सरायँ नाच यो वर्ष निकालिएको छ । हरेक वर्ष दसैंको ५ दिनपछि अर्थात पञ्चमीको दिनमा निकालिने सरायँ चार वर्षपछि निकालिएको हो ।

दमाई जातीले निकाल्ने यो मेला साढे चार दशकअघिदेखि निकाल्न सुरु गरेको स्थानीयले बताएका छन् । दमाई जातीकै परिवारबाट पूजाआजा गरी उनीहरुकै सक्रियतामा यो सरायँ निकाल्न सुरु भएको हुँदा यो सरायँलाई दमिनी सरायँ भनिएको हो ।

तत्कालिन बल्ढेङगढी गाविसबाट एउटा खोडा घरमा ल्याएको दिनदेखि छहरामा लामाधामी गर्दै आएकी लमेनी (फुर्सी दमेनी)लाई देवता उत्रिएपछि बोखरडाडाँको घना जंगलमा मन्दिर स्थापना गरी पूजाआजा गर्न थालेपछि उनलाई निको भएपछि यो पर्व मनाउन थालिएको स्थानीय ढङ्कुरे दर्जीले बताए ।

देवता उत्रिएकी लमेनीले सिरमा दसैंको अष्टमीको दिनमा राखिएको जमरा र पानसमा बालिएको बत्ती हातमा लिएर सात कन्यासंगै मन्दिर परिक्रम गरी खुडा नचाउँदै मन्रि नजिकैको तलाउसम्म सराय नाच्ने गरिन्छ ।

धार्मिक आस्थाअनुसार मन्दिरबाट निस्किएर तलाउमा नपुग्दासम्म बाटोमै हातमा रहेको बत्ती निभ्यो भने अनिष्ट हुने दर्जीले बताए । केही वर्षअघि सरायँ नाच्दै गर्दा हातको बत्ती निभेका कारण सोही वर्ष नै लमेनी (फुर्सी दमेनी) को मृत्यु भएको उनले बताए ।

उनकाअनुसार मेला प्रत्येक वर्ष मेला लागेर पूजाआरधना गरेमा परिवारमा खुस शान्ती हुनेछ। यस्तै मेला नभएमा देवता उत्रिएकी लमेनीलाई दुःख कष्ट हुने गरेको छ । दमाई जातीको नेतृत्वमा निकालिने यो सरायँ मेलामा सबै जातजातीको सहभागिता रहन्छ ।

यो मेलाका दिन दमाई जातिका पुजारीले मेलामा सहभागी सबैलाई टीका जमार, फूल, प्रदास प्रदान गर्ने प्रचलन छ । जस्ले गर्दा जातिय सद्भावसमेत कायम भएको जानकारहरु बताउँछन् ।

मन्दिर स्थापनापछि तीन पुस्तासम्म आएको यो सरायँ र मन्दिर व्यवस्थापनका लागि अहिले स्थानीय सरकारले पनि सहयोग गर्दे रैनादेवी छहरा गाउँपालिकाका कार्यपालिका सदस्य महेश बरालले बताए । धार्मिकसंगै नेपालमै पृतक रहेको हुँदा पर्यटकीय हिसावले समेत यसको प्रचार्रसार गर्नका लागि पनि स्थानीय सरकारसंगै सबैले पहल गर्नुपर्ने उनले बताए ।

विगतका चार वर्ष कोरोना संक्रमण जोखिमसंगै सरायँ निकाल्ने परिवारमा दुःखमा परेको हुँदा यो वर्षदेखि नियमित रुपमा सरायँ निकाल्न सुरु गरिएको स्थानीय जयराम परियारले बताए ।

यो सरायँलाई दशैंपछिको अन्तिम सरायँका रुपमा पनि लिइने हुँदा मेला हेर्नेका लागि पाल्पाका विभिन्न गाउँसंगै देशभरबाट भक्तजनको बाक्लो उपस्थिती रहन्छ भने। विभिन्न स्थानबाट व्यापार र किनमेल गर्नका लागि पनि स्थानीयको उल्लेख्य रुपमा सहभागिता रहने गर्दछ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer