तानसेन। पाल्पामा पाँच वर्ष मुनिका १७ हजार ८ सय ४५ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन सुरु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाकाअनुसार जिल्लाका दश स्थानीय तहमा दुई चरणमा यो अभियान चल्ने छ ।

पहिलो चरण अन्तरगत आइतबारदेखि गतेदेखि १६ गतेसम्म तानसेन नगरपालिका, रिब्दीकोट बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए ।

यस्तै दोस्रो चरण अन्तरगत फागुन २१ गतेदेखि २६ गतेसम्म रामपुर नगरपालिका, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ । अभियानलाई प्रभावकारी बनाउन यसअघि नै स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी विभिन्न सरोकारवालासँग अन्तरक्रिया र प्रचारप्रसारको कार्यक्रम समेत गरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

दादुरा–रुबेला खोप अभियानका लागि जिल्लामा रहेका दुई सय ५० वटा खोप केन्द्रहरू बढाएर २ सय ७९ वटा बनाएर खोप लगाइने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय पाल्पाका खोप कार्यक्रमका प्रमुख विश्वनाथ न्यौपानेले बताए । दादुरा रुबेला खोपको ९ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकाले अनिवार्य रूपमा लगाउनुपर्ने खोप हो ।

दादुरा–रुबेला खोप लगाए विभिन्न रोगको संक्रमण तथा आक्रमणबाट बच्न सकिन्छ । नियमित रूपमा अन्य खोप लगाएका बालबालिकाले समेत यो अभियानमा अनिवार्य रूपमा दादुरा रुबेला खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नुपर्दछ  । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रूपमा खुवाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

 

“बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ  । गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकला·हरू देखापर्न सक्ने हुन्छ। दादुरा–रुबेला रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखापर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखापर्ने  गर्छ। ”

रोगी बालबालिकामा ज्वरो आउनु र शरीरमा राता विमीरा देखापर्नु, रुघा खोकीको लक्षण देखापर्ने गर्दछ । यस्तो प्रकारको समस्या देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्याहार गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

तपाईको प्रतिक्रिया