
तानसेन। कुनै बेला चैतको गर्मीमा असार १५ को जस्तै झल्को दिएर खोला खेतमा भरिने पाल्पाका किसानले पछिल्ला वर्षहरुमा चैते धान लगाउन छाडेका छन् । पानीका मुहान सुक्दै जानु, काम गर्ने युवा शक्ती गाउँमा नबस्नु जस्ता कारणले खेतीयोग्य जमिन बाझिदै जाँदा प्रत्येक वर्ष चैते धान लगाउने किसानको संख्या घटेको हो।
बाँदर र अन्य वन्यजन्तुले कम क्षति गर्ने भएपछि चैते धान लगाउने किसान घट्दै जाँदा खेती लगाउने क्षेत्रफल वर्षेनी घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । पाल्पामा पूर्वखोला, रामपुर, रम्भा, माथागढीलगायतका स्थानीय तहमा चैते धान खेती हुँदै आएको छ ।
खोला छेउँमा रहेका खेतहरुमा चैते धानको खेती हुने गरेपनि पछिल्ला वर्षहरुमा किसानको रुचीमा नै कमी आउँदा चैते धान खेती गर्ने किसान घटेका हुन् ।
कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार पाल्पामा यो वर्ष करिब सात सय हेक्टर क्षेत्रफलमा मात्रै चैते धान खेती लगाइएको छ । गत वर्ष भने पाल्पाका किसानले सात सय ७० हेक्टर क्षेत्रफलमा चैते धान लगाएका थिए । प्रत्येक वर्ष घट्दै गएको खेतीलाई बढाउन गर्न स्थानीय तहहरुले प्रोत्सहान गर्नुपर्ने किसानको माग रहेको छ ।
सिचाईं सुविधा भएका स्थानमा लगाउने चैते धानको वर्षे धानको तुलनामा उत्पादन क्षमता बढी हुने गरे पनि खेती गर्ने जनशक्ती नै नहुँदा पछिल्ला वर्षहरुमा चैते धानको खेती गर्ने किसानहरु घट्दो क्रममा रहको पाइएको हो ।