तानसेनमा ४० जना युवालाई सीपमूलक तालिम सुरु

तानसेन। तानसेनमा युवा लक्षित सीपमूलक तालिम सुरु भएको छ। दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तरगत ४० जना युवालाई कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन र विल्डिङ्ग इलेक्ट्रिसियन तालिम सुरू भएको हो।

इन्स्याेर परियोजनामार्फत तानसेन नगरपालिकाकाे ४० लाख लागतमा कार्यगत अभ्याससहित १० महिना अर्थात १६९६ घण्टाका लागि तालिम संचालन गर्न जयन टेक्निकल कलेज अफ टेक्नोलोजी बुटवलले तालिमकाे संचालन गरेकाे छ।

तालिमको सुभारम्भ गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले सरकारको लक्ष्य अनुसार युवालाई सीप प्रदान गरेर स्वरोगजार बनउन तालिमले टेवा पुग्ने बताइन् । उनले शैक्षिक बेरोजगारी बढेको समयमा युवालाई सीप प्रदान गरेर आयआर्जनसंग जोड्न नगरपालिकाले तालिमको आयोजना गरेको बताइन् ।

पछिल्लो समय युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम बढेको समयमा सीप नहुँदा भोग्नुपर्ने समस्याको समाधानका लागि पनि तालिमले सहयोग गर्ने उपप्रमुख सिंजालीले बताइन्।

“सीप सिकेर स्वदेशमै रोजगारीमा जोड्ने हाम्रो प्रयास हो, केही गरी विदेश जानु भो भने पनि तपाईलाई सीपको आवश्यकता हुन्छ। अहिले टेक्निकल विषयको सीप सिकेपछि जीवनउपयोगी शिक्षाका रुपमा सधैंव काम लाग्नेछ।”-उपप्रमुख सिंजालीले भनिन्।

कार्याक्रममा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले शैद्धान्तिक भन्दा सीपमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताए । जीवनउपयोगी शिक्षाबाट आयआर्जन र गरिबी निवारण गर्न टेवा पुग्ने विश्वासका साथ आयोजना गरिएको तालिमले युवाहरुलाई स्वरोजगार बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले सक्षम जनशक्ति उत्पादन गर्न तालिमको आयोजना गरिएको बताइन् ।तालिमबाट बढ्दो बेरोजगारी कम गर्नुका साथै युवालाई दीगो रोजगारी र सीपयुत्त र पेशालाई सम्मानित बनाउने उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा जयन टेक्निकल कलेज अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक नर्मती थापाले सहभागीले पूरा समय दिएर सीप सिक्न र आगामी दिनमा सिकको सीपबाट आयआर्जनमा लाग्नुपर्ने बताइन् । उनले आफ्नो संथाले १७ वर्षदेखि तालिमहरु दिँदै आएको र ३५ जिल्लामा कार्यक्षेत्र रहेको उल्लेख गर्दै अनुभवी र दक्ष प्रशिक्ष्कबाट सीप सिकाउने व्यवस्था गरिएको बताइन् ।

तालिमको उद्घाटन समारोह जयन टेक्निकलका प्रशिक्षक महेश नेपालीको स्वागत तथा तालिम संयोजक टेक बहादुर धामीको संचालनमा सम्पन्न भएको थियो । तालिममका तानसेन र अन्य स्थानीय तहका गरी ४० जना युवा सहभागी छन्।

तपाईको प्रतिक्रिया