तानसेन। तानसेनको टुँडिखेलमा ‘दोस्रो रणउजिरेश्वरी भगवती कप २०८२’ प्रतियोगिता सुरु भएको छ। ऐतिहासिक रणउर्जेश्वरी भगवती जात्राको अवसरमा श्रीनगर भलिबल क्लवले खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु गरेको हो।
बिहीबार भएको महिला तर्फको लिग चरणको पहिलो खेलमा न्यू होराइन क्लब तानसेनले आयोजक टिम श्रीनगर भलिबल क्लबलाई २-० को सोझो सेटमा पराजित गर्यो। यस्तै महिलातर्फको दोस्रो खेलमा चण्डेश्वरी युवा क्लब रिब्दीकोट ६ ले निस्दी भलिबल क्लबलाई २-० को सोझो सेटमा पराजित गर्न सफल भयो । यस्तै तेस्रो खेलमा न्यू होराइजन तानसेनले कानुङ्ग मगर भलिबल क्लबलाई २-० को साझो सेटमा हरायो।
पुरूषतर्फको उद्घाटन खेल पनि बिहीबार सम्पन्न भएको छ । पहिलो खेलमा पाल्पा भलिबल क्लबले जीत हात पारेको छ । बेस्ट अफ पाइभ अन्तरगतको खेलमा ३-१ को सेटमा न्यू होराइजन भलिबल क्लवलाई पराजित गरेर पाल्पा भलिबल क्लबले जित हात पारेको हो।
प्रतियोगितामा महिला र पुरुषतर्फ पाँच/पाँच टिम सहभागी रहेका छन् । प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने कार्यक्रम छ । पुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि १८ लाख २८ हजार ६ सय बराबरको खर्च अनुमान गरिएको क्लवका सचिव एवं खेल संयोजक दिपक चोहानले बताए।
प्रतियोगिताको समुद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य बीर बहादुर रानाले खेलको माध्यमबाट जिल्लाको पहिचान, खेलाडी उत्पादन र पर्यटन प्रर्वधनमा टेवा पुग्ने बताए। उनले नेपालकै गौरवसंग जोडिएको रणउज्जेश्वरी भगवती जात्राको अवसरमा खेलको आयोजना हुनाले खेलको मात्रै नभएर सम्पूर्ण नेपालीको गौरव गाथासंग खेललाई जोड्न सक्नु श्रीनगर क्लबको सफलता रहेको बताए।
तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनमा प्रतियोगिता आयोजना हुनु सुखद् रहेको बताउँदै खेलकुदको विकास र विस्तारका लागि नगरपालिका सधैव तयार रहेको बताए।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले खेलकुद प्रतियोगिताले खेलाडी उत्पादनदेखि समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताउँदै हरेक खेलमा पाल्पाली पत्रकारले साथ दिएको उल्लेख गरे। श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आलेले क्लबले खेलाडी उत्पादन तथा जिल्लाको गौरव गाथालाई समेटेर यो प्रतियोगिता आयोजना गरेको बताए।
मौसमका कारण बुधबारदेखि आयोजना गर्न भनिएको खेल बिहीबारबाट सुरु भएपनि निर्धारित समयभित्रै खेल सम्पन्न गर्ने लक्ष्य क्लबले राखेको अध्यक्ष आलेले जानकारी दिए । प्रतियोगिता भगवती जात्राको दिनसम्म चल्नेछ ।





















