दशैंमा नयाँ नोट नपाइने, सुकिला नोट सटही कहिले गर्न पाइन्छ?

पाल्पा। दसैंका यो वर्ष नयाँ नोट बजारमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले दसैमा प्रयोग गर्न सुकिला नोट उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले आइतबार सूचना निकालेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गरिने जनाएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिनेछ।

दसैंका बेला राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भए पनि विगत केही वर्षदेखि भने सुकिला नोटमात्रै सटही गर्दै आएको छ।

यसअघि झै १८ हजार पाँच सय रूपैयाँसम्म सुकिला नोट साट्न पाइने भएको हो। ५, १०, २०, ५० र एक सय दरको एकरएक बण्डल नोट साट्न सकिने भएको हो।

१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघिसम्म पनि नेपालमा भारतीय मुद्राको दबदबा थियो। नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैंकले ०१५१६ सालबाट दसैंमै नयाँ नोट निष्कासन र वितरण गर्न थाल्यो।

दसैंमा अर्थतन्त्र सहरबाट गाँउतिर सर्ने भएकोले नयाँ नोट निष्कासन र वितरणको चलन सुरू गरिएको थियो।  दसैंमा आम उपभोगमा पनि वृद्धि हुने भएकोले त्यति खेर यस्तो सुरूवातले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो योगदान गरेको थियो।

अहिले एउटा नोटका लागि करिब एक रूपैयाँ ४० पैसादेखि चार रूपैयाँ ६८ पैसा लागत लाग्ने गरेको छ। नोटहरूको दुरुपयोगकै कारण चाँडै पुरानो हुने र नयाँ नोट छाप्न पर्ने भएकोले मुलुकलाई वार्षिक सरदर करोडौं लागत पर्ने गरेको छ।

त्यसैले केही वर्षदेखि दसैंमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने र प्रणालीमा रहेकै सुकिला नोट वितरण गरिरहेको छ।

Public-Notice_CMD-768x695-1756620809.jpg

तपाईको प्रतिक्रिया