तानसेनमा अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै सेवा, उपप्रमुखको अगुवाइमा परिचयपत्र वितरण

पाल्पा । तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै सेवा पुरयाउन थालेको छ । नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिन्जालीको नेतृत्वमा डाक्टर र अन्य कर्मचारीसहितको एक टोलीले घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्न जुटेको हो ।

लामो समयदेखि पूर्ण अशक्तताका कारण नगरपालिका कार्यालयसम्म पुग्न नसकेका व्यक्तिहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको छ । यसले विगतमा महिला तथा बालबालिका कार्यालयबाट परिचयपत्र लिएका तर स्थानीय तहबाट नवीकरण गर्न नसकेका व्यक्तिहरूलाई ठूलो राहत मिलेको छ ।

नगरपालिकाको अपाङ्ग समन्वय समिति, सामाजिक विकास शाखा र स्वास्थ्यकर्मीको संयुक्त प्रयासमा यो काम भएको हो । टोलीमा समितिका सदस्य कृष्ण गहतराज र गोमा गैरेका साथै सामाजिक विकास शाखा प्रमुख कोशलराज घिमिरे पनि सहभागी थिए ।

उपप्रमुख सिन्जालीले पुरानो परिचयपत्र अब मान्य नहुने भएकाले सबैलाई आफ्नो परिचयपत्र स्थानीय तहबाट नवीकरण गर्न अनुरोध गरेकी छन्। यसका लागि नगरपालिकामा सम्पर्क गर्न पनि उनले आग्रह गरिन् । नगरपालिकाको यो कदमले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सेवा र सुविधामा सहज पहुँच पु¥याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया