
तानसेन। रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार हजुल मियाँलाई १९४ मतले पछि पार्दै भट्टराई निर्वाचित भएका हुन् ।
भट्टराईले एक हजार ३०६ मत र मियाँले एक हजार ११२ मत प्राप्त गरेका थिए। नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा बामपन्थी दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगाएतका दलहरूको संयुक्त प्यानल र नेपाली कांग्रेसको प्यानल बिच प्रतिस्पर्धा भएको थियो ।
कार्यसमितिमा अध्यक्ष बाहेक अन्य पदाधिकारी र लेखा समितिमा भने नेपाली कांग्रेसका उम्मेद्वारहरू निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसबाट विष्णुमाया ढकाल एक हजार २२५ मत सहित निर्वाचित भउकी छन् । उनका प्रतिस्पर्धी प्रेमप्रकाश श्रेष्ठले एक हजार १०१ मत प्राप्त गरेका थिए ।
यस्तै सचिव पदमा निलकण्ठ पोखरेल एक हजार २३७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी कृतिनाथ श्रेष्ठले १०३६ मत पाएका थिए। कोषाध्यक्षमा भोजराज भट्टराई एक हजार ४५० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी खेमराज घिमिरेले ८२८ मत प्राप्त गरेका थिए ।
सदस्यहरूमा विष्णुप्रसाद आचार्य एक हजार ६८, मुना थापा एक हजार ६४, राजकुमार श्रेष्ठ एक हजार ५०, सरस्वती डोटेल एक हजार ३७ र टेकबहादुर विश्वकर्मा ९७५ मत सहित विजयी भएका छन् । लेखासमिति संयोजकमा दुर्गाप्रसाद पोखरेल एक हजार दुई सय ५१, सदस्यहरूमा कमल आचार्य एक हजार १०९ र मञ्जु भट्ट क्षेत्री ९७५ मतसहित विजयी भएका छन् ।
ब्लक संयोजकतर्फ ब्लक नं. १, ३, ४ र ६ मा नेपाली कांग्रेस र ब्लक नं. २ र ५ मा संयुक्त प्यानलका उम्मेदवार निर्वाचित भएको छ । ब्लक नं. १ बाट कृष्णप्रसाद अर्याल, ब्लक नं. २ बाट टोपनारायण ढकाल, ब्लक नं. ३ बाट बसन्तबहादुर मल्ल मेदासी, ब्लक नं. ४ मा कृष्णप्रसाद वाग्ले, ब्लक नं. ५ मा बुद्धिप्रसाद श्रेष्ठ, ब्लक नं. ६ मा मोहनबहादुर थापा निर्वाचित भएका हुन् ।
कुल तीन हजार ६८४ मतदाता रहेको समितिको निर्वाचनमा दुई हजार ५८८ मतदान खसेको निर्वाचन समितिका संयोजक सूर्यदर्शन पण्डितले जानकारी दिए।
रामपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट रामपुर नगरपालिका वडा नं.४, ५, ६ र ७ का जनताले खानेपानी उपभोग गर्दै आएका छन् ।