‘लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रता संरक्षणको पहल गराैंः महासंघ पाल्पा

तानसेन।  प्रधानमन्त्रीको राजीनामापश्चात् देशमा उत्पन्न भएको सङ्क्रमणकालीन अवस्था र जेन-जी आन्दोलनका क्रममा भएको सरकारी दमनलाई लिएर नेपाल पत्रकार महासंघ पाल्पा शाखाले एक अपिल जारी गरेको छ। अपिलमा महासंघले लोकतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको संरक्षण र वर्तमान राजनीतिक संकटको समाधानका लागि सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

जेन-जी आन्दोलन र सरकारी दमन महासंघले जेन-जी आन्दोलनको समयमा भएको सरकारी दमनको कडा शब्दमा निन्दा गरेको छ। भ्रष्टाचार र बेथिति विरुद्ध उठेको युवा पुस्ताको आवाजलाई दबाउने प्रयासले ३४ जनाको ज्यान गएको र सयौं घाइते भएको भन्दै महासंघले दुःख व्यक्त गरेको छ।

ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि महासंघले गरेको छ। महासंघको ठहर छ कि अहिलेको आवश्यकता जेन-जी पुस्ताका मागहरूलाई सम्बोधन गर्दै अघि बढ्नु हो।

सङ्क्रमणकाल लम्बिएमा देशले थप क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै महासंघले लोकतान्त्रिक प्रक्रिया र संवादमार्फत तत्काल निकास खोज्न सबै पक्षलाई आग्रह गरेको छ।

प्रेस र पत्रकारमाथिको आक्रमण यसैगरी, महासंघले आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकारहरूमाथि भएको आक्रमण र मिडिया हाउसहरू जलाइएका घटनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ। शान्ति र लोकतन्त्रका लागि निरन्तर क्रियाशील रहने पत्रकारहरूलाई आन्दोलनको निशाना बनाइनु दुःखद र आपत्तिजनक भएको महासंघको भनाइ छ।

जारी अपिलमा महासंघले राज्यसँग आन्दोलनका क्रममा क्षति पुगेका मिडिया हाउस र घाइते पत्रकारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ। साथै, राज्य र आन्दोलनकारी दुवै पक्षलाई प्रेसमाथि कुनै पनि प्रकारको आक्रमण वा घुसपैठ नगर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न हार्दिक अपिल गरेको छ।

नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी र अध्यक्ष कमलराज तिमिल्सेनाद्वारा जारी यस अपिलले वर्तमान जटिल परिस्थितिलाई सम्बोधन गर्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सबै सरोकारवालाहरूलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया