
तानसेन। पाल्पामा कुनै पनि निषेधाज्ञा र कर्फ्यू आदेश जारी नगरिएको स्थानीय प्रशासनले जनाएकाे छ। विहीबार सर्वपक्षीय बैंठकमा बाेल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले हाल जिल्लामा निषेधाज्ञा र कर्फ्यूआदेश जारी नगरिएको बताएकी हुन् ।
उनले जिल्लामा त्यस्तो कुनै अराजग गतिविधि नभएको र शान्तिपूर्ण रुपमा आन्दोलन भइरहेको हुँदा यस्ताे अादेश जारी नभएकाे बताइन् । “जिल्लाको अवस्था र आवश्यकतालाई हेरेर मात्र निषेधाज्ञा र कर्फ्यू जारी गर्ने व्यवस्था छ तर हामी कहाँ शान्तिपूर्ण नै छ , त्यसैले हामीले निषेधाज्ञा र कर्फ्यूजारी गरेका छैनौं, यसमा स्पष्ट भइदिन जिल्लावासीलाई आग्रह गर्दछु ।” उनले भनिन् ।
प्रजिअ कुंवरले निर्वाध रुपमा पेशा, व्यवसाय, शैक्षिक संस्था, यातायात निर्वाध रुपमा सञ्चालन गर्न समेत आग्रह गरेकी छन् । उनले सहजीकरणका लागि आफुहरु तयार रहेको बताइन् । जिल्लामा सुरक्षा, प्रत्याभूति दिलाउन तीनै तहका सुरक्षा निकाय तयारी अवस्थामा रहेकाले कही कतै समस्या आए खबर गर्न स्थानीय प्रशासनले अनुराेध गरेकाे छ।