तानसेन। पाल्पामा हालैको बेमौसमी वर्षाका कारण तीन प्रतिशत धानमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्रका अनुसार स्याहार गर्ने तयारीमा रहेको धानलाई चार दिनसम्म परेको बेमौसमी वर्षाले तीन प्रतिशत क्षति पुर्याएको हो।
ज्ञान केन्द्रका प्रमुख अमिता पाण्डेका अनुसार जिल्लाभरको धानको क्षति हेर्दा करिब तीन प्रतिशत धानमा क्षति पुगेको हो । क्षति पुगेकोमा सबैभन्दा धेरै माडीफाटमा रहेको छ । यस्तै जिल्लाका अधिकांश क्षेत्रमा काटेको धानमा धेरै क्षति पुगेको प्रमुख पाण्डेले बताइन् ।
बीउ, मल, सिचाईँ र अनेक रोगहरुबाट बचाएर स्याहार्ने बेलाको धानमा बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएपछि उत्पादन र उत्पादकत्व घट्ने चिन्तामा किसान छन् । धान काटेर पाजा लगाउदा पानीले डुब्ने, मक्किने, उम्रिने जस्ता समस्या देखिएपछि धान स्याहार गर्न समेत समस्या भएको किसानले बताएका छन् ।
जेनतेन गरेर लगाएको धानबाली स्याहार गर्ने बेलामा आएको वर्षाले गर्दा ठूलो क्षति पुगेको किसानले बताएका छन् । केही किसानले भने जनशक्ति नपाउने समस्याले गर्दा ब्याड राख्दादेखि स्याहार गर्ने सबैस काम लगाएको खेतालाको खर्च समेत नउठ्नेगरी धान क्षति भएको बताएका छन् ।
उता उत्पादित धान खानका लागि योग्य नहुने होकी भन्ने चिन्ता समेत किसानमा थपिएको छ । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार पाल्पामा यो वर्ष आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । अहिलेसम्म ९५ प्रतिशत किसानले धान काटेर सकेको ज्ञान केन्द्रले जनाएको छ ।





















