नसर्ने रोगका बिरामी बढ्दा अर्गानिक उत्पादन बढाउनु आवश्यकः स्वास्थ्य मन्त्री सारु

तानसेन। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने रोगका बिरामीको संख्या प्रत्येक वर्ष बढेको सन्दर्भमा अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले दैनिक खानपान र जीवनशैली सधार गरेर मात्रै निरोगी बन्न सकिने बताएका हुन्।

शनिबार तानसेनमा आयोजित पाल्पा व्यापार संघको आठ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सारुले लुम्बिनी प्रदेशसहित देशभर नै पछिल्ला वर्षहरुमा नसर्ने रोगका बिरामीको संख्या बढ्नुका पछाडि खानपान र फेरिएको जीवनशैली रहेको दावी गरे । उनले उद्योगी व्यापारीले अर्गानिक उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिए ।

मन्त्री सारुले मानिस स्वस्थ भए मात्रै उसले हरेक क्रियाकलाप गर्न सहज हुने औल्याउदै अर्गानिक उत्पादन र उपभोक्ताले विषादिरहित खाद्यवस्तुको उपभोग गर्न पाउने वातावरण निर्माणमा व्यवसायीले  ध्पयान दिनुपर्नेमा जोड दिए।

मन्त्री सारुले प्रदेश सरकारले अर्गानिक उत्पादन र मानसिक स्वास्थ्यका क्षेत्रमा लगानी बढाएर काम गरेको बताए । प्रदेश सरकारले उत्पादनका आधारमा अनुदानको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको जनाउदै सो क्षेत्रमा ध्यान दिन आग्रह गरे ।

मन्त्री सारुले देश आयात रोकेर निर्यातका वातावरण बनाउन व्यापारीहरु एकजुट हुनुपर्ने बताए । उद्योगी व्यापारीको समस्या समाधान गर्न तीनै तहका सरकारसंग समन्वयमा गरेर अघि बढ्न सुझाव दिए ।

मन्त्री सारुले जिल्लाको विकासका लागि एकीकृत व्यवसायीक योजना आवश्यक रहेको बताए। ” नेपालको व्यापार घाटा बढी छ । त्यसले आयातलाई प्रतिस्थापन गर्न निर्यात बढाउनुपर्छ । यस विषयमा तीन वटै सरकार गम्भीर बन्नुपर्छ ।” उनले भने।

व्यापारिक संघसंस्थाका नेतृत्वले यसको नेतृत्व लिएर अघि बढ्का लागि मन्त्री सारुले सुझाव दिए । मन्त्री सारुले पाल्पाको मुख्य उत्पादन ढाका र करुवा भएपनि त्यसको उत्पादन तुलनात्मक रुपमा घटेदो रहेकोमा व्यापारिक संघसंस्थाले ध्यान दिनुपर्ने बताए ।

आन्तरिक उत्पादन प्रवर्धन गरेर साना व्यपारीको संरक्षण र प्रवर्धनमा संस्थाले नेतृत्व गर्नुपर्छ बताउँदै मन्त्री सारुले व्यापरिक प्रवर्धनका लागि जिडिटल माध्यमको प्रयोग गरेर विश्व बजारमा लैजानेगरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया