पाल्पा । जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानीस्थित माथागढी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. १ चिदीपानीका अध्यक्ष राजकुमार पन्थीले सहकारी संस्था स्थानीय आर्थिक समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्नुभयो।
उहाँले सहकारीलाई उत्पादन, रोजगारी र उपभोक्ता हितसँग प्रत्यक्ष जोड्दै पारदर्शिता र सुशासनका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। संस्थाका अध्यक्ष भवान सिंह गाहा थापाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा विशिष्ट अतिथिका रूपमा गाउँकार्यपालिका सदस्य तुलसा न्यौपाने र वडा सदस्य लिला कुमारी बिकको उपस्थिति रहेको थियो। साधारण सभामा संस्थापक शेयर सदस्यहरू तथा विभिन्न संघ–संस्थाबाट उपस्थित प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्षले संस्थाको समग्र अवस्था, हालसम्म भएका कार्य तथा आगामी नीति–निर्णयका बारेमा संक्षिप्त धारणा व्यक्त गर्नुभएको थियो। साधारण सभामा संस्थाको आर्थिक पारदर्शिता प्रस्तुत गर्दै तीन करोड त्रिहत्तर लाख सन्ताउन्न हजार तीन सय त्रिपन्न रुपैयाँ बराबरको कारोबार रहेको वार्षिक लेखापरीक्षण प्रतिवेदन लेखा सदस्य ईश्वरी तिवारीले प्रस्तुत गर्नुभएको थियो। संस्थाले सञ्चालन गर्दै आएको डेरी पसल तथा सस्तो पसल सम्बन्धी गतिविधिहरूको समीक्षा गर्दै डेरीमा सबैभन्दा बढी तथा गुणस्तरीय दूध आपूर्ति गर्ने किसान र सस्तो पसलबाट सबैभन्दा बढी सामग्री खरिद गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गरिएको सचिव विजयदीप पन्थीले जानकारी दिनुभयो।
सम्मानित हुनेहरूमा उत्कृष्ट दैनिक बचतकर्ता भानुभक्त बस्याल र बालकृष्ण थापा, स्वैच्छिक बचतकर्ता सिता गाहा र मैना देवी चौहान, मासिक बचतकर्ता मानबहादुर गाहा र केशबहादुर सिङ्जाली, ज्येष्ठ नागरिक बचतकर्ता टिकाराम बस्याल, उत्कृष्ट बाल बचतकर्ता मिस्मा सारु, उत्कृष्ट ऋणी सदस्य देवेन्द्र कुमार गाहा रहेका छन्। त्यसैगरी सस्तो पसलबाट असल ग्राहकका रूपमा सोमबहादुर आले, जमुना थापा, धनमाया दिशा र हरिबहादुर थापा सम्मानित भएका छन्।
दूध उत्पादनतर्फ, सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान टिकाराम खनाल तथा गुणस्तरीय दूध उत्पादन गर्ने रेणुका देवी पाण्डे, बलबहादुर कुमाल र तुल कुमारी सारुलाई सम्मान गरिएको थियो। कार्यक्रममा रत्न प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहन जिसी, आदर्श आधारभूत विद्यालयका शिक्षक ऋषिराम पन्थी तथा भारतीय भूतपूर्व सैनिक गुन बहादुर सारुले शुभकामना मन्तव्य राख्दै सहकारीको सामाजिक तथा आर्थिक योगदानको प्रशंसा गर्नुभएको थियो। कार्यक्रममा माया न्यौपानेको आकर्षक सांगीतिक प्रस्तुति समेत रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष टोपला पाण्डेले गर्नुभएको थियो भने सञ्चालन अनन्त पन्थीले गर्नुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष भवान सिंह गाहा थापाको अध्यक्षतामा सम्पन्न भएको हो।





















