समुदायसँग न्यायिक समिति तथा मेलमिलाप सम्बन्धी वडा स्तरीय सचेतना

पाल्पा । तानसेन नगरपालिकाको आयोजनामा समुदायसँग न्यायिक समिति तथा मेलमिलाप सम्बन्धी वडा स्तरीय सचेतना कार्यक्रम वडा न १४ अर्गलीमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिकी संयोजक प्रतीक्षा गाहा सिङ्जालीले न्यायिक समितिमा उजुरी दिने प्रक्रिया, मेलमिलापकर्ताको भूमिका र समुदायको सहभागिताको महत्वबारे स्पष्ट पार्नुभयो।

उहाँले स्थानीय स्तरमै विवाद समाधान गर्दा समय, खर्च र सामाजिक सम्बन्ध जोगिने बताउनुभयो। उहाले स्थानीय तहमा देखिने विवादहरूलाई सहमति, संवाद र मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रक्रियाबारे नागरिकलाई सचेत गराउन यो कार्यक्रम आयोजना गरीएको बताउनुभयो ।

समुदायको सक्रिय सहभागिताले मात्र मेलमिलाप प्रक्रिया प्रभावकारी हुने बताउँदै यस्ता सचेतना कार्यक्रमले समाजमा शान्ति र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तानसेन नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित कार्यक्रमको उद्देश्य कार्यक्रममा सबिता भट्टराईले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७(१) अनुसार न्यायिक समितिले निरुपण गर्न पाउने विवादहरूको जानकारी नागरिकसम्म पुर्याउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनुभयो।

उहाँले सामान्य घरेलु, सामाजिक तथा स्थानीय विवादहरू अदालतसम्म पुग्न नपरी स्थानीय तहमा नै समाधान गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका अध्यक्ष गीता भट्टराई न्यौपानेले न्यायिक समितिको उद्देश्य नागरिकलाई न्याय पहुँचको नजिक पुर्याउनु रहेको बताउनुभयो। उहाँले साना–साना विवादले ठूलो समस्या निम्त्याउने भएकाले प्रारम्भिक चरणमै मेलमिलापमार्फत समाधान खोज्न सबैलाई आग्रह गर्नुभयो। यो कार्यक्रमले न्यायिक समिति र मेलमिलाप प्रक्रियाप्रति समुदायमा विश्वास बढाउने समेत बताउनुभयो ।

कार्यक्रम न्यायीक समिती सदस्य गीता भट्टराइको स्वागत, मेलमिलापकर्ता हरि प्रसाद पराजुलीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा कृष्ण प्रसाद पाण्डे, केशव भट्टराई, दुर्गा बास्तोला, सीता ज्ञवाली, विष्णु रेग्मी, बलराम गैरे र कमला पाण्डे लगायत सहभागीहरूले आफ्ना समस्या, जिज्ञासा तथा सुझाव राख्नुभएको थियो।

तपाईको प्रतिक्रिया