आज माघे संक्रान्ति, देशभर हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा मनाइने माघे संक्रान्ति आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। यस पर्वलाई मकर संक्रान्ति, माघी तथा खिचडी पर्वका नामले पनि चिनिन्छ। माघ महिनाको पहिलो दिन पर्ने यस संक्रान्तिले उत्तरायणको सुरुवात र दिन लामो हुँदै जाने विश्वास गरिन्छ।

माघे संक्रान्तिलाई नेपाली समाजमा स्वास्थ्य, प्रकृति र सामाजिक सद्भावसँग जोडिएको पर्वका रूपमा लिइन्छ। यस दिन चिसो घट्दै जाने र घामको ताप बढ्दै जाने मान्यतासँगै शरीरलाई तागत दिने खानाको सेवन गर्ने परम्परा रहिआएको छ। तिल, चाकु, घ्यू, तरुल, सख्खरखण्ड, खिचडी तथा माछा–मासु खाने चलन व्यापक छ।

थारु समुदायले यस पर्वलाई माघीका रूपमा नयाँ वर्षको सुरुवात मान्दै विशेष उत्सव मनाउँछन्। यस अवसरमा पारिवारिक भेला, सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। परम्परागत रूपमा कामदार–मालिकबीच नयाँ सम्झौता गर्ने चलन पनि माघी पर्वसँग जोडिएको छ।

धार्मिक दृष्टिले माघे संक्रान्तिको विशेष महत्व रहेको छ। आजका दिन कालीगण्डकी, त्रिवेणी, देवघाट, कोशी, बागमतीलगायतका नदी तथा तीर्थस्थलमा स्नान, पूजा र दान गर्ने भक्तजनको भीड लाग्ने गर्दछ। स्नान, दान र पुण्यकार्यले पाप नाश हुने र शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ।

सरकारले माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ। यस पर्वले नेपाली समाजको सांस्कृतिक विविधता, आपसी सद्भाव र परम्परागत जीवनशैलीलाई झल्काउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया