निस्दीले गर्यो कक्षा ८ सम्म निःशुल्क पढाउने व्यवस्था

तानसेन। निस्दी गाउँपालिकाले सबै विद्यालयमा कक्षा ८ सम्म कुनै पनि शुल्क लिन नपाउने गरी अनुदान व्यवस्था गरेको छ । गाउँपालिकाको १७ औं गाउँसभाबाट पारित भए अनुसार पालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा ८ सम्म कुनै पनि शुल्क नउठाउँने नीति पारित भएको हो।

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यसअघि परीक्षा, भर्नालगायतमा शुल्क उठाउदै गरेकोमा अबदेखि सम्पूर्ण बालबालिकाको पहुँच, टिकाउ र गुणस्तरीय शिक्षा हासिल गराउन सोहीअनुसारको बजेट विनियोजन गरिएको हो। विद्यार्थी पलायन नियन्त्रण र विद्यार्थी प्रोत्साहनका लागि कार्यक्रम गरिनेछ भने आधारभूत शिक्षालाई पूर्ण रूपमा निःशुल्क र अनिवार्य गरिएको बजेटमा भनिएको छ ।

पालिकाले स्थानीय पाठ्यक्रम निर्माण, कार्यान्वयन गर्दै शिक्षाको गुणस्तर सुधार ल्याउन प्रधानाध्यापक, शिक्षक, कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरिनेछ ।

दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी बनाइने छ भने अंग्रेजी माध्यमको कक्षा थप व्यवस्थित गरिनेछ । अध्यक्ष थापाका अनुसार शैक्षिक सामग्री व्इवस्थापन र प्रयोगलाई जोड दिइनेछ । यहाँ शिक्षाको क्षेत्रमा काम गर्ने गरी पालिकाले २ करोड ७० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बताइन् । जस अन्तर्गत दिवा खाजा थप व्यवस्थापन गर्न ३६ लाख बजेट विनियोजनग गरेको छ ।

निस्दीमा १२ मावि, १३ आधारभूत र २६ प्रावि गरी ५१ विद्यालय छन् । एसईईमा गतवर्ष १८।९१ प्रतिशत यसवर्ष ५२।७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गतवर्ष एसईईमा २ सय ९६ सहभागी भएका थिए भने यसवर्ष २ सय ६४ जना सहभागी थिए । कक्षा १ देखि १२ सम्म विद्यार्थी संख्या गतवर्ष ३ हजार ९ सय ५५ थिए भने ३ हजार ३ सय ४७ रहेका छन् ।

तपाईको प्रतिक्रिया