रिब्दीकोटमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने, स्थानीयमा खुसीयाली

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-१, ख्याहामा नयाँ स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको पुरानो भवनलाई स्थानान्तरण गरी नयाँ बनाउने प्रक्रिया सुरु भएपछि यस क्षेत्रका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ।

गाउँपालिकाको ‘कृषि, पर्यटन, पूर्वाधार/यातायात’ नीतिअन्तर्गत यस वर्षको प्राथमिकतामा परेको यो योजनाका लागि आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिका र सङ्घीय सरकार दुवैबाट बजेट विनियोजन भइसकेको छ।

भदौ १८ गते, गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, वडा नम्बर १ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेल, जग्गाधनी र गाउँपालिकाका प्राविधिकहरूको टोलीले नयाँ भवनका लागि उपयुक्त जग्गाको स्थलगत अनुगमन गरी टुङ्गो लगाएको थियो। अनुगमनपछि वडा कार्यालयमा बसेर गाउँपालिका अध्यक्ष र जग्गाधनीबीच जग्गा हस्तान्तरण गर्ने सम्झौतासमेत सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष कार्कीले सम्पूर्ण प्रक्रिया पूरा गरी यथाशीघ्र नयाँ भवन निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “हाम्रो मुख्य उद्देश्य नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो, नयाँ भवन बनेपछि यस क्षेत्रका जनताले सुविधासम्पन्न स्वास्थ्य सेवा पाउनेछन्।”

यस महत्वपूर्ण कार्यका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादाता पार्वता पाण्डेलाई स्थानीय बासिन्दा र गाउँपालिकाले उच्च सम्मान व्यक्त गरेको छ। पाण्डेको यो योगदानलाई समाज विकासका लागि एक उदाहरणीय कार्यको रूपमा प्रशंसा गरिएको छ। नयाँ स्वास्थ्य चौकी भवन निर्माणले यस क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच अझै सहज बनाउने अपेक्षा छ।

तपाईको प्रतिक्रिया