
पाल्पा। रिब्दीकोट गाउँपालिकाले जेन जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणका लागि नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा महत्वपूर्ण आर्थिक योगदान गर्ने घोषणा गरेको छ। रिब्दीकोट गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूको सुविधा, पारिश्रमिकको केही अंश कटौती गरेर यो कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिकाको यो निर्णयलाई उदाहरणीय र प्रशंसनीय मानिएको छ, जसले विपद्मा परेका संरचनाहरूको पुनर्निर्माणमा स्थानीय सरकारको सक्रिय भूमिका देखाएको छ।
रिब्दीकोट गाउँपालिकाले यही भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको मर्मतसम्भारका लागि गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले १ महिना बराबरको सम्पूर्ण सुविधा आफूले कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधिहरूले दुई दिन बराबरको सुविधा, अधिकृतस्तरका कर्मचारीहरूको २ दिन बराबरको तलब रकम कोषमा जम्मा गर्ने भएका हुन् ।
सहायकस्तरका कर्मचारीहरूले १ दिन बराबरको तलब रकम कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका ले जनाएको छ ।
गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको यस त्यागले पुनर्निर्माण कार्यमा ठूलो सहयोग पुग्ने छ। यो कदमले सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनमा सामूहिक भावनालाई उजागर गरेको छ।
रिब्दीकोट गाउँपालिकाको यो निर्णयले अन्य स्थानीय तहहरूलाई पनि यस्तै प्रकारको योगदानका लागि प्रेरित गर्नेछ ।