एमाले पाल्पाको जनप्रदर्शनप्रति एमाले वडाअध्यक्ष भन्छन्-‘३० वर्षमुनिका युवा उपस्थिति २५–३० जना देखिए’

पाल्पा । नेकपा (एमाले) पाल्पाले हिजो आयोजना गरेको विशाल जनप्रदर्शनप्रति पार्टीकै एक वडा अध्यक्षले गम्भीर र ‘तितो’ टिप्पणी सार्वजनिक गरेका छन् । नेतृत्वले भव्य उपस्थितिमा जनप्रदर्शन सम्पन्न भएकाे खुसी मनाइरहेका बेला माथागढी १ का वडाध्यक्ष राजकुमार पन्थीले जनप्रदर्शनको भित्री ‘वास्तविकता’ माथि प्रहार गरेका हुन् ।

वडा अध्यक्ष पन्थीले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेको आलोचनात्मक टिप्पणीले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वको कार्यशैलीप्रति देखिएको निराशालाई उजागर गरेको छ ।

जनप्रदर्शनको ‘तितो’ वास्तविकता
वडा अध्यक्षको टिप्पणीमा जनप्रदर्शनको उपस्थितिलाई लिएर गरिएका प्रमुख दाबीहरू यस्तो रहेको छ । प्रदर्शनमा सहभागीमध्ये करिब ९० प्रतिशत सहभागीको उमेर ४० वर्ष नाघेको दाबी गरिएको छ । यसको तुलनामा ३० वर्षमुनिका युवाको उपस्थिति २५ देखि ३० जनामा मात्र सीमित हुनुले युवा परिचालनमा पार्टी पूर्णत : असफल भएको स्पष्ट संकेत गर्दछ ।

पाल्पामा करिब ८,००० सदस्य भएको दलले ‘जीवन–मरणको संघर्ष’ गरी जुटाएको उपस्थिति केवल झण्डै २,००० मा सीमित रहनुलाई उनले पार्टीको संगठनिक क्षमताको गम्भीर कमजोरीका रूपमा औंल्याएका छन् ।

एक हप्तादेखि युवा सहभागिता र एकता देखाउने भन्दै गरिएको तयारी पनि अपेक्षाकृतरूपमा कमजोर देखिएकोमा उनले असन्तुष्टि जनाएका छन् ।

एक युवा नेतृको भाषण सुनिसकेपछि ‘अबको नेतृत्व कस्तो हुने?’ भन्ने गम्भीर प्रश्न उब्जिएको टिप्पणीले नयाँ पुस्ताको नेतृत्वको क्षमतामाथि समेत प्रश्न चिन्ह खडा गरेको छ ।

‘जमाना डिजिटल छ’ भन्दै उनले आम सञ्चारमाध्यममा देखिएका कमेन्टहरू हेर्नै नहुने गरी नकारात्मक रहेको बताएका छन् । यसको समिक्षा गर्ने जिम्मेवारी कसले लिने भन्दै उनले नेतृत्वलाई प्रश्न सोधेका छन् ।

पाल्पाका चार स्थानीय तहका ४० वर्षमुनिका युवा पार्टी अध्यक्षहरू मञ्चमा वा उपस्थितिमा शून्य प्राय : देखिनुले पार्टीमा युवालाई उपेक्षा गर्ने परम्परा अझै हावी रहेको उनको ठहर छ ।

तपाईको प्रतिक्रिया