पाल्पा । तानसेन नगरपालिका स्तरीय रेडक्रस तिज रनिङ शिल्डको उपाधी न्यू होराइजन इङलिस बोर्डिङ स्कुलले हात पारेको छ । युवा रेडक्रस सर्कल पद्म पब्लिक नमुना माविले आयोजना गरेको रनिङ शिल्डमा न्यू होराइजन प्रथम हुँदा बिजु इङलिश बोर्डिङ स्कुल दोस्रो र भुषालडाँडा माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेको हो ।
विजेता विद्यालयलाई तानसेन नगरपालिका वडा नं.३ का वडाध्यक्ष बाबुरत्न शाक्यले नगदसहित प्रमाणपत्रले सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि शाक्यले रेडक्रस स्वयंसेवी संस्था भएर पनि संस्कृती जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याउन काम विद्यार्थीमार्फत् भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले पाल्पा जिल्लामै महत्वपूर्ण शैक्षिक नतिजा प्राप्त गरेको विद्यालयले जिल्लामै पहिलो पटक रनिङ शिल्ड तिज सम्पन्न गरेको बताए । उनी भन्छन्, तिज हाम्रो मौलिक संस्कृती पहिचान हो, लक्ष्मीरूपी महिलाहरूको महान पर्वलाइ विद्यार्थीहरूले जगेर्ना गर्न खुःशी र वेदना शेयर गर्ने माध्यम बनेको छ ।
पद्म पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तविर बरालले फरक क्षमता भएका विद्यार्थी समेत अध्ययन अध्यापन हुने विद्यालयले फरक विधामा रनिङ शिल्ड प्रतियोगिता गरेको बताउँदै यो रनिङ शिल्ड ३ पटक निरन्तर वा पटक पटक गरेर विजयी हुने विद्यालयमै राख्न सकिने गरि कार्यक्रम गरिएको बताए ।
कार्यक्रम युवा रेडक्रस पद्म पब्लिक नमुना माविका अध्यक्ष सलिना खड्काको अध्यक्षता, शिक्षक नायक उमेश न्यौपानेको धन्यवाद र सदस्य जानुमाया र मुना हिस्कीको सञ्चालनमा भएको थियो ।





















