तानसेनमा मौलिक देउसी भैलो हुने

तानसेन। हिन्दु नेपालीहरुको दोस्रो महान् चाड तिहारको अवसरमा तानसेनमा मौलिक देउसी भैलो कार्यक्रम हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाको आयोजना, तानसेन नगरपालिकाको संरक्षकत्व र तानसेन–५ वडा कार्यालयको सह आयोजनामा कार्तिक १ गते मौलिक देउसी भैलो कार्यक्रम हुने भएको हो।

पाल्पाको तानसेनस्थित श्रीनगर साँस्कृतिक डबलीमा एक दिने देउसी भैलो कार्यक्रम हुन लागेको प्रतिष्ठानले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। मौलिक कला, संस्कृतिको संरक्षण र सास्कृतिक डबलीलाई चलायमान बनाउनका लागि वरिष्ठ कलाकारसहितको देउसी भैलो कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिए। “लोक संस्कृति संरक्षण गर्नु हाम्रो दायित्व हो, स्थानीय सरकारको सहयोगमा हामीले देउसी भैलो कार्यक्रम गर्न लागेका हौं ।” अध्यक्ष भट्टराईले भने ।

कार्यक्रमको तयारी तीव्र पारिएको बताउँदै नेपाली लोक संगीतमा ख्याती कमाउन सफल गायक तथा निर्देशक नारायण रायमाझीको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप आर्कषक बनाउने विश्वास गरिएको उनले बताए ।

कार्यक्रममा देउसी भैलोसंगै विभिन्न समुदायबाट मारुनी नाँच, सोरठी, झ्याउरे गीतको प्रस्तुति हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer