
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजना सडक शिक्षक आन्दोलन आज २२औं दिन भयो । यो आन्दोलन एक्कासी आरम्भ भएको पनि होइन् तर यो आन्दोलनको आरम्भ विगत दुई महिना अगाडिबाट आरम्भ भएको हो । विगतमा पनि आन्दोलन नभएका भने होइनन् । विगतमा सरकारले शिक्षकसँग एक प्रकारको सहमति गर्ने गर्दथ्यो । शिक्षकहरू सहमति पश्चात् आन्दोलन फिर्ता हुन्थ्यो तर अहिले त्यो अवस्था रहेन ।
माधव प्रसाद पाेखरेल (लालकिरण)
नेपालको संविधानमा नै समाजवाद उन्मुख शिक्षा र माध्यमिक तहसम्म निस्शुल्क गरेको छ भने नेपाल सरकारले दिगो विकासका लक्ष्य ४ नम्बरमा गुणस्तरीय शिक्षामा हस्ताक्षर गरेको छ। २०२८ सालमा तत्कालीन राजा महेन्द्रले जारी गरेको थोत्रो शिक्षा ऐनलाई विस्थापित गर्दै नवीन विचार, दृष्टिकोण र चिन्तनले भरिएको विश्व परिवेश सुहाउँदो शिक्षा ऐन पारित गर्नु र विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघका बीचमा भएका सहमति उल्लेख गरेर शिक्षा ल्याउनु यो शिक्षक आन्दोलनको मुख्य ध्येय हो । अर्कोतर्फ अहिलेसम्मकै नेपाल भए तमाम आन्दोलन भन्दा शिक्षक आन्दोलन धेरै पृथक छ । यो आन्दोलनको बलमा त्यो शिक्षा ऐनको माग गरिएको छ कि जुन शिक्षा ऐनमा रोजगारमूलक, उत्पादनमूलक , व्यवसायीका, जीवनउपयोगी, जीवनवादी, वैज्ञानिक , वस्तुवादी र नेपालको हावापानी , भूगोल र माटो सुहाउँदो र विश्वका प्राज्ञिक प्राज्ञिक व्यक्तिहरूले पनि अनुसरण गर्ने खालको शिक्षा ऐन जारी होस् ।
शैक्षिक माफियाको अन्त्य , न्यायमा आधारित, शिक्षामा भैरहेको व्यापारीकरणको समूल नष्ट गर्दै देशभरि नै एकै प्रकारको शिक्षा नीति लागू होस् यो आन्दोलनको मूल मर्म हो । कसैलाई पनि आन्दोलनको रहर हुँदैन तर आन्दोलन नभइकन आमूल परिवर्तन हुँदैन । त्यसकारण नेपालमा २२औं दिन देखि चलेको महान शैक्षिक सडक आन्दोलनले शिक्षाक्षेत्रमा युगान्तकारी परिवर्तनको अपेक्षा गरेको छ। देशका सुदूरपश्चिमदेखि सुदूरपूर्व उत्तर हिमालयपर्वतमाला देखि दक्षिण तराईका फाटबाट नयाँ शिक्षा ऐनको माग गर्दै विभिन्न अवस्थाको बाबजुद, शारीरिक, अपांगभएका गुरूहरू सडकमा आफ्नो रचनात्मक ढंगले आन्दोलनको आँधी सिर्जना गर्नुभएको छ तर सरकारले कुनै वास्ता गरेको छैन। यसले के देखाउँछ भने आफूलाई लोकतान्त्रिक भनेको सरकारले शिक्षित वर्गका मागलाई सम्बोधन गर्न नसक्नु एक प्रकारको निरङ्कुशता पराकाष्ट हो ।
नेपालको संविधानमा उल्लेख भएका मौलिक हकलाई तीनवर्ष भित्र कानुन बनाइ सक्ने हुन्छ । तर हाम्रो देशको विडम्बना संविधान जारी भएको एक दशक सम्म पनि कानुनले पूर्णता पाउन सकेको अवस्था छैन यसको प्रमुख कारण भनेको राजनीतिक दल र ती दलको नेतृत्वको इच्छाशक्ति नहुनु हो । आज दैनिक २२०० को हाराहारीमा नेपाली आमाका सन्तान आफ्नो मातृभूमि छोडेर रोजगारीका विदेशी मूलुकमा जान बाध्य भएका छन् जस्को प्रमुख कारण जीवन जिउने शिक्षाको अभाव नै हो । आज ग्रामीण वस्ती फर्केर हेर्ने हो भने उजाड छ, कलेजमा जाने विद्यार्थीहरू चर्को व्याजदरमा ऋणको भारी बोकेर खाडी मुलुकमा कामदार भएर जानु प्रने अवस्था वर्तमान र तत्कालीन सत्तामारूढ दलका कारण नै यो अवस्थाको सिर्जना भएको हो ।
नेपाल अहिलेसम्मकै यस्तो विषम परिस्थितिमा गुज्रिरहेको छ कि जुन स्थानबाट माथि उठ्न धेरै लामो समय लाग्ने छ ।यस्तो अवस्था आज देशभरका सम्पूर्ण सामुदायिक विद्यालय बन्द छन्, शिक्षक शिक्षिका अनिश्चितकालीन सडक आन्दोलनमा छन् तर सरकार आज मुद दर्शक भएर बेढंगले बसिरहेको छ। सरकारलाई विद्यार्थीको भविष्यको बारेमा वास्ता छैन, देशको शिक्षा प्रणाली कस्तो बनाउने कसरी देशलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिन्छ भने मतलव छैन । त्यसकारण यो नेपालको शिक्षक आन्दोलन नेपाली इतिहासमा एउटा कोसेढुङ्गा सावित हुनेछ ।
अहिलेसम्मकै परिपक्व र चट्टानी अडानमा रहेको शिक्षक महासंघको नेतृत्व तमाम खालका समस्या समाधानका गर्ने , शिक्षक तथा कर्मचारीहरूको माग र मुद्दालाई आत्मसात् गरेर शरीरमा एकथोपा रगत रहुञ्जेल नयाँ सङघीय शिक्षा ऐनको जारी गराउने पक्षमा रहेको छ । कसैको प्रलोभनमा नपरी धाक र धम्कीको वास्ता नगरी आउने भावी सन्ततिलाई नयाँ मार्ग देखाएर नयाँ इतिहास लेखाउने अहिलेको नेपाल शिक्षक महासंघको मूल आह्वान पनि हो ।लेखक एकीकृत अखिल नेपाल शिक्षक संगठनका राष्ट्रिय परिषद् सदस्य हुन