तानसेनमा प्रत्येक शनिवार भजन साँझ, संस्कृति संरक्षणकाे पहल  
तानसेन। पाल्पा सदरमुकाम तानसेनस्थित विभिन्न धार्मिक स्थलहरुमा प्रत्येक शनिवार भजन साँझ आयोजना गरिदै आएको छ । लियो क्लब अफ पाल्पा-२ को आयोजनामा विगत पाँच सातादेखि ‘संस्कृति बचाऔँ, युवालाई कुलतबाट हटाऔं भन्ने अभियानसहित भजन साझ हुँदै आएको हो।
स्थानीय तह र सहयोगी संस्था तथा भक्तजनहरुकै सहयोगबाट विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूमा मौलिक भजनकीर्तन आयोजना गर्दै क्लबले जनाएको छ । पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको कुलत र पश्चिमा संस्कृतिको प्रभावलाई न्यूनीकरण गर्न क्लबले प्रत्येक शनिबार बेलुका भजन साँझ सञ्चालन गर्दै आएको क्लवका अध्यक्ष सुजित कुमार थापाले जनानकारी दिए।
”युवाहरूलाई धार्मिक कार्य र परम्परागत मौलिक भजनमा सरिक गराएर आफ्नो संस्कृतिको संरक्षणका लागि पहल गरिएको छ । सबैलाई भक्तीमय बनाउन जेन्जी पुस्तालाई समावेश गरेर पुराना पुस्ताबाट बाध्यकला र भजन गाउन सिक्ने तथा मौलिक संस्कृतिलाई आउने पुस्ता समक्ष पुर्याउने उद्देश्य रहेको छ, यस्तै पछिल्लो समय युवा पुस्तामा देखिएको लागू औषध दुर्व्यसनी र अनावश्यक रुपमा मोबाइल हेर्ने, जस्ता ुलतलाई हटाएर भक्तीभावमा समावेश गर्ने पनि हाम्रो उद्देश्य हो ।”- अध्यक्ष थापाले भने ।
पछिल्लो समय भजन साँझमा युवा पुस्ताको उपस्थिति निकै उत्साहजनक देखिन थालेको आयोजकले जनाएको छ । साप्ताहिक रुपमा संचालित भजन साझमा क्लवभित्र संगठिन र अन्य युवाहरू आफ्नै मौलिक बाजागाजा र परम्परागत शैलीमा भजन गाउँदै संस्कृति संरक्षणमा जुट्न क्रम बढ्दो रहेको क्लवका उपाध्यक्ष पवन बस्यालले बताए।
भजन गाउनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखा, विभिन्न भजन संरक्षण समितिहरू तथा स्थानीय भक्तजनहरूको सक्रिय सहयोग र समन्वय गर्दै आएका छन् ।
सामूहिक प्रयासबाट सुरु गरिएको यो अभियानले पाल्पाको धार्मिक पर्यटन र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । यस्तै भजमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गरेको हुनुका साथै लोपोन्मुख अवस्थामा रहेका मौलिक भजनहरूले पुनर्जीवन पाएको पाका पुस्ताको बुझाइ छ ।
क्लवले तानसेनको अमरनारायण मन्दिर, ऐतिहासिक प्रभास क्षेत्र तथा रणउजिरेश्वरी भगवती मन्दिर परिसर लगायतका स्थानमा भजन साँझ कार्यक्रम गर्दै आएको जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको