तानसेन। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड तानसेन शाखाले अति विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको छ । उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत तानसेन नगरपािलका वडा नं. ३ भित्रका अति विपन्न १५ घरपरिवारका लागि खाद्यान्न सहयोग गरेको हो।
वडा कार्यालयको सहयोगमा अति विपन्न परिवारका लागि चामल, आलु, तेलसहित एक महिनाका लागि खान पुग्ने सामग्री सहयोग गरिएको बैंकका शाखा प्रबन्धक चिरञ्जिवी पोखरेलले बताए ।
खाद्यान्न सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष बाबुरत्न शाक्यले बैंकले सामाजिक उत्तरदायित्व अन्रतरगत अति विपन्न परिवारलाई सहयोग गरेकोमा धन्यवाद दिए । वडाले मात्रै सबै विपन्न परिवारलाई सहयोग गर्न नसकेको अवस्थामा यसरी सामाजिक संस्थाहरुले सहयोग गर्नु सकारात्मक रहेको भन्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरिएको वडाध्यक्ष शाक्यले बताए ।
उक्त बैंकका ८९ शाखा रहेका छन् । पाल्पामा दुई वटा शाखाबाट सेवा दिँदै आएको उक्त बैंकले ग्रामीण भेगका नागरिकको सुविधाका लागि प्राथमिकतामा राखेर काम गर्दै आएको बैंकका कर्जा विभाग प्रमुख मदन अर्यालले बताए ।
सामग्री पाएपछि आफूहरुलाई दैनिकी चलाउन केही राहत पुगेको स्थानीयले बताएका छन् । सहयोग प्रदान कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी र बैंकका कर्मचारीको उपस्थिती रहेको बेंकका कर्मचारी मिलन रानाले बताए ।


