गुल्मीको पातन खोला पुल निर्माणस्थलमा एक्साभेटर पुरिएर क्षतिग्रस्त

गुल्मी । गुल्मीमा पुलको जग खन्ने क्रममा अचानक पहिरो खस्दा निर्माणस्थलमा रहेको एक्साभेटर मेसिन क्षतिग्रस्त भएको छ । धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकाको सिमानामा पर्ने मदाने गाउँपालिका–भनभनेस्थित ढाँडाचौरमा निर्माणाधीन पातन खोला पुलको फाउन्डेसन खन्ने क्रममा जमिन भासिएर पहिरो गएको हो ।

डिएनडी बिल्डर्स प्रालि, तम्घासद्वारा निर्माण भइरहेको उक्त पुलको जग खन्ने क्रममा एक्कासि जमिन खस्दा निर्माणस्थलमा काम गरिरहेको बा ३ क २८०९ नम्बरको एक्साभेटर मेसिन पहिरोमा परेको थियो । पहिरोसँगै खसेका रुख, बुट्यान तथा ढुंगामाटोले च्यापिँदा एक्साभेटर मेसिनमा क्षति पुगेको छ ।

डिएनडी बिल्डर्स प्रालिका सञ्चालक धनिश्वर गौतमका अनुसार फाउन्डेसन खन्ने क्रममा अचानक जमिन भासिएर पहिरो गएको हो । पहिरोले एक्साभेटर मेसिनलाई रुख, बुट्यान तथा ढुंगामाटोले च्यापेर क्षति पु¥याएको उनले बताए । एक्साभेटर मेसिन क्षतिग्रस्त भए पनि मानवीय क्षति भने नभएको सञ्चालक गौतमले जानकारी दिए । उनका अनुसार मेसिनमा के–कति क्षति पुगेको छ भन्ने यकिन विवरण संकलन भइरहेको छ ।

एक्साभेटर मेसिन पहिरोमा परेर क्षतिग्रस्त भएपछि पातन खोला पुल निर्माणको कामसमेत तत्कालका लागि रोकिएको छ । मेसिनमा भएको क्षतिको अवस्था र निर्माण कार्य पुनः सञ्चालन गर्ने गौतमले बताए ।

धुर्कोट र मदाने गाउँपालिकालाई जोड्ने पातन खोला पुल स्थानीयवासीको आवतजावत तथा दुई स्थानीय तहबीचको सम्पर्कलाई सहज बनाउने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको छ । घटनामा मानवीय क्षति नभए पनि निर्माणस्थलमा भएको भौतिक क्षतिले निर्माण कार्यमा असर पु¥याएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको