दर्लम महाकालीको रथयात्रा निकालियो

तानसेन। उत्तरी पाल्पाको धार्मिक पर्यटकीय स्थल तथा शक्तिपिठका रुपमा स्थापित दर्लम महाकालीको भव्यरुपमा रथयात्रा निकालिइएको छ । मन्दिर स्थापना गरेको मिति अनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन विधिवत पूजा आरधना गरी महाकाली रथलाई मन्दिरसहित उक्त क्षेत्रमा परिक्रमा गराइएको हो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष ङणराज गैरेका अनुसार, मन्दिरमा महाकाली शिला भित्र्याइएको दिन वि.सं. २०१० को कार्तिक शुक्ल त्रयोदशीलाई रथ यात्रा दिवसको रूपमा मनाउने परम्परा रहिआएको छ।
पदमपाणी गैरेका पूर्वजहरूले पुस्तौंदेखि महाकालीको आराधना गर्दै आएको परम्परालाई निरन्तरता दिँदै वि.सं. २००० मा माटोको मूर्ति स्थापना गरी पूजा आरम्भ गरिएको थियो।

वि.सं. २०१० को कार्तिक शुक्ल त्रयोदशीको राति गैरेसहित मलेङ्गका हुमकान्त बश्याल लगायतलाई महाकाली माताले सपनामा दर्शन दिई यहाँभन्दा २०० फिट तल सपांग्दीमा म दर्शन दिनेछु” भनी सन्देश प्राप्त भएको थियो ।

सोही स्थानमा उत्खनन गरी प्राप्त शिलालाई मन्दिरमा भित्र्याई नियमित रूपमा पाञ्चायन, रुद्राभिषेक, हवन आदि विधिपूर्वक पूजा गरिँदै आएको छ। माताले गोरखास्थित मनकामना मन्दिर आफ्नो अंश भएको उल्लेख गर्दै त्यही ढाँचामा मन्दिर निर्माण गर्न तथा मन्दिर क्षेत्रलाई सार्वजनिक पूजा स्थल बनाउने निर्देशन दिए अनुसार मन्दिर स्थापना गरिएको हो।

मन्दिर परिसरमा गणेश, भगवती पञ्चायत, शिव, लक्ष्मीनारायण, यज्ञमण्डप, हवनकुण्ड, वेदविद्यापीठ तथा भण्डार कक्षलगायतका स्थान निर्माण गरिएको छ ।

यो मन्दिरमा भाकल अनुसारको पूजा र वली दिने तथा रामनवमी र बडादशैमा विशेष पुजा आरधना हुँदै आएको छ। मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका आधारमा नेपालसहित भारतबाट पनि भक्तजनको सहभागिता हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको