तानसेन। पाल्पाको तानसेन–९, मा संचालित दमकडा माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण प्रमाणपत्र प्राप्त गरेको छ । दुई वर्षअघि अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आइएसओ लोगो) पाएको विद्यालयले आवश्यक सम्पूर्ण चरण र मापदण्ड पूरा गरी पाल्पा जिल्लामै पहिलो पटक प्रमाणपत्र प्राप्त गर्ने विद्यालय बनेको हो ।
बिहीबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगर र ग्लोबल क्वालिटी काउन्सिलका नेपाल राष्ट्रिय निर्देशक सुदीप शर्माले विद्यालयलाई प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा सभामुख घर्तिमगरले भौतिक, शैक्षिक तथा समग्र पक्षमा सुधार गरी अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेकामा विद्यालय परिवारलाई बधाई दिए । उनले पछिल्लो समय नैतिक शिक्षाको आवश्यकता महसुस गरिए पनि वर्तमान शिक्षा नीतिबाट त्यो अपेक्षा गर्नु उचित नहुने बताए। उनले समग्र शिक्षाको सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैले गुणात्मक तरिकाले सोच्नुपर्ने बताए ।
आइएसओका राष्ट्रिय निर्देशक शुनिल शर्माले भौतिक तथा शैक्षिक क्षेत्रका ८० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए । दमकडा माविले जिल्लामै गुणस्तर चिह्न र प्रमाणपत्र दुवै प्राप्त गर्ने पहिलो विद्यालय बनेको बताउँदै आगामी दिनमा पनि निरन्तर मापदण्ड अनुसारका कार्य गर्न आग्रह गरे ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले विद्यालयले गुणस्तरीय शिक्षाका लागि रचनात्मक रूपमा क्रियाशील रहेको बताए । उनले यो उपलब्धि तानसेन र जिल्लाका सबै विद्यालयले अनुशरण गर्न सक्नुपर्नेमा जोड दिए । उनले विद्यालयस्तरमा गुणस्तरसँगै संस्कारयुक्त शिक्षामा जोड दिनुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले समयसापेक्ष प्रविधिमैत्री शैक्षिक अभ्यास, कक्षाकोठा व्यवस्थापन र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएर तीव्र गतिमा काम गरेको बताए । अध्यक्ष अर्यालले प्रमाणपत्र प्राप्त गर्नु सफलता भएपनि आगामी दिनमा निरन्तरता दिने र थप सफलता हासिल गर्ने विषय चुनौतीपूर्ण रहेका बताउँदै उक्त चुनौती समाना गर्न विषय परिवार हरदम तयार रहेको बताए ।
उक्र कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका प्रमुख प्रेमराज खरेल, शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज न्यौपाने, सहायक प्रधानाध्यापक होर्तिराज ढुङ्गाना र पत्रकार माधवप्रसाद अर्याललगायतले विद्यालयले हालि गरेको उपलब्धिमा बधाई दिँदै आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा निरनत्र रचनात्मक कार्य गर्न सुझव दिएका थिए ।
सोही अवसरमा उक्त विद्यालयमा नेपाल सरकारकाे तर्फबाट दुइवर्ष अनुदानमा शिक्षण गरेका शिक्षक नवीन गैरेलाई बिदाई गरिएको थियो ।






