तानसेन। पाल्पाको ग्रामीण परिवेशमा जन्मिएर सामुदायिक विद्यालयमा कक्षा १२ सम्म नेपाली माध्यमबाट अध्ययन गरेका आयुष पाण्डेयले एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका छन्। हालै सार्वजनिक नतिजाअनुसार उनले ३९औँ र्याङ्क हासिल गर्दै पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन्।
२०६७ वैशाख २ गते पिता मधुप्रसाद पाण्डेय र माता गोमा पाण्डेयका जुम्ल्याहा सन्तानमध्ये जेठा सन्तानका रूपमा जन्मिएका आयुष पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादी सर्देवाका हुन्। उनले श्री भगवती माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए भने बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट कक्षा १२ को अध्ययन पूरा गरेका हुन् ।
सामुदायिक विद्यालयमा नेपाली माध्यमबाट अध्ययन गर्दै अगाडि बढेका आयुष सानैदेखि जेहेन्दार, अनुशासित र लगनशील विद्यार्थीका रूपमा परिचित थिए। सीमित स्रोतसाधन र ग्रामीण परिवेशमा रहेर पनि उच्च शैक्षिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।
आयुषको अर्को प्रेरणादायी पक्ष उनको सामाजिक तथा शैक्षिक योगदान पनि हो। एसईई उत्तीर्ण गरेपछि उनले करिब तीन महिना श्री मच्छेन्द्रादेवी आधारभूत विद्यालयमा स्वयंसेवक शिक्षकका रूपमा काम गर्दै निम्न माध्यमिक तहका विद्यार्थीलाई अंग्रेजी विषयसमेत अध्यापन गराएका थिए।
पढाइसँगै अध्यापन र सामाजिक सेवामा समेत रुचि राख्ने आयुषको यो उपलब्धिले परिवार, विद्यालय, शिक्षक तथा समग्र रैनादेवी छहरा क्षेत्रमै खुसी र गौरवको वातावरण सिर्जना गरेको छ।
ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयबाट सुरु भएको उनको शैक्षिक यात्रा अब चिकित्सा शिक्षातर्फ अघि बढेको छ।
आयुषको सफलताले इच्छाशक्ति, निरन्तर मेहनत र लगनशीलता भएमा सामुदायिक विद्यालयबाट अध्ययन गर्ने विद्यार्थीले पनि राष्ट्रिय स्तरमा उत्कृष्ट सफलता हासिल गर्न सक्छन् भन्ने सन्देश दिएकाे छ ।






