तानसेन। नेपालको चार धाममध्येको एक रुरु क्षेत्रधाम रिडीस्थित ऋषिकेशव भगवानको रथयात्रा निकालिएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वादशीका दिन निकालिने भगवान् ऋषिकेशवको रथयात्रा यो वर्ष पनि परमपागत विधि अनुसार निकालिएको हो ।
पाल्पा, गुल्मी र स्याङ्जा गरी तीन जिल्लाको संगमस्थल रूरू क्षेत्रमा रहेको मन्दिरमा निकालिएको रथयात्रामा स्थानीयका साथै छिमेकी जिल्लाबाट सयौंको संख्यामा भक्तजन सहभागी भएका थिए । तानसेन नगरपालिका–१४, अर्गलीस्थित ऋषिकेशव मन्दिर परिसरबाट सुरु भएको रथयात्रा गुल्मीको रिडी बजार, ऋषिकेशव क्षेत्र हुँदै पाल्पाको अर्गली बजारसम्म पुर्याइएको हो ।
शनिबार रथलाई विधिगत रुपमा पूजा आरधना गरी उत्तम साहितमा रथ उठाँई तीन पटक मन्दिर परिक्रमा गराएर बजार परिक्रमा गराइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए । रथ यात्रामा लुम्बिनी प्रदेशका पर्यटन मन्त्री तुलसी प्रसाद चौधरीसहित संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।
रथयात्रामा बोल्दै मन्त्री चौधरीले प्रदेश सरकारले रुरु क्षेत्रधामको विकासका लागि योजना बनाएर अघि बढ्ने बताए। उनले मन्दिर व्यवस्थापन समितिले बनाएको गुरु योजना अनुसार नै विकास निर्माण र प्रचार प्रसारका कामहरु हुने र जसका लागि प्रदेश सरकारले ध्यान दिएर बजेट विनियोजन गर्दै जाने बताए ।
किंवदन्तीअनुसार सोह्रौं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्ने क्रममा भगवान् ऋषिकेशवको मूर्ति फेला पारी उक्त मूर्ति स्थापना गरी पूजा आराधना सुरु गराएको विश्वास गरिन्छ । त्यसयता यो मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ ।
रूरू क्षेत्र पुग्ने श्रद्धालुले कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशव मन्दिरमा दर्शन गर्ने परम्परा छ । यहाँ कालीगण्डकी स्नान, पूजा, दान र धार्मिक अनुष्ठान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
ऋषिकेशवसँगै गायत्री मातालगायत विभिन्न देवालयमा पनि भक्तजनले पूजा गर्ने गर्छन् । धार्मिक मान्यताअनुसार रूरू क्षेत्रलाई रूरू कन्याको जन्मस्थलका रूपमा समेत चिनिन्छ । विभिन्न धार्मिक ग्रन्थमा यस क्षेत्रलाई ऋषिमुनिहरूको तपोभूमिका रूपमा लिने गरिएको छ ।






