तानसेन। पाल्पामा आइतबार राति एक पुरुषको हत्या गरि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले रैनादेवी छहरा गाउँपालिका–४ छहराबजारस्थित एक होटलबाट लुकीछिपी बसेको अवस्थामा हत्यामा संलग्न नारायण लम्तरीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गएराति करिब १ बजे तिनाउ गाउँपालिका–६ सिसुवा खोला क्षेत्रमा दुई स्थानीयबीच विवाद हुँदा कुटपिट भएको थियो। विवादका क्रममा ४५ वर्षीय नन्दलाल बगनाईलाई ३५ वर्षीय लम्तरीले टाउको तथा शरीरका विभिन्न भागमा ढुंगाले प्रहार गरी बनाएका थिए ।
घाइते बगनाईलाई उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि नारायण लम्तरीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।
फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ८ बजे रैनादेवी छहरा गाउँपालिका–४ छहराबजारस्थित जलधारा होटलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका लम्तरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।






