तेस्रो मेयर कप क्रिकेटको उपाधि वडा नं ९ लाई

पाल्पा । तानसेनमा सम्पन्न तेश्रो तानसेन मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ९ ले हात पारेको छ । पाल्पाको तानसेन टुँडीखेल खेलमैदानमा आयोजित फाइनल खेलमा साविक विजेता वडा नं. १ लाई ४४ रनको फराकिलो अन्तरले पराजित गर्दै वडा नं. ९ ले पहिलो पटक उपाधि चुमेको हो ।

हारसँगै अघिल्ला दुईवटै संस्करणको विजेता वडा नं. १ को उपाधिमा ह्याट्रिक गर्ने सपना अधुरै भएको छ । प्रतियोगितामा कुल ८ वडाका टीमहरूले सहभागिता जनाएका थिए ।

फाइनल खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको वडा नं. ९ ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । वडा नं. ९ का लागि रुपक सापकोटाले ३९ रनको महत्वपूर्ण इनिङ खेले भने भुवन राज पाण्डेयले २६ र आशिष न्यौपानेले २३ रनको योगदान दिए । बलिङतर्फ वडा नं. १ का रुपेश बस्यालले किफायती बलिङ गर्दै ३ विकेट लिए पनि अन्य बलरले विपक्षी ब्याटरलाई रोक्न सकेनन् ।

१ सय ३१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वडा नं. १ को ब्याटिङ सुरुवातमा राम्रो प्रदर्शन गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । वडा नं. ९ का बलरहरूको कसिलो बलिङ र उत्कृष्ट फिल्ड्गिले अन्ततः वडा नं. १ मात्र ८६ रनमा समेटिन पुग्यो । टोलीका लागि रुपेश बस्यालले १९, सबिन बस्यालले १७, रुपेश बस्याल (एल) ले १३, विशाल न्यौपानेले १२ र चोलेश्वर बस्यालले १० रन जोडेका थिए ।

वडा नं. ९ को जितमा अच्यूत पाण्डेयले घातक बलिङ गर्दै ३ विकेट लिए भने आशिष न्यौपाने, भुवन राज पाण्डेय र सुभम भुसालले समान २÷२ विकेट बाँडे । फाइनल खेलमा २६ रन बनाउनुका साथै २ विकेट समेत लिएका अलराउन्डर भुवनराज पाण्डेय ’म्यान अफ दि फाइनल’ घोषित भए ।

तानसेन नगरपालिकाले खेलकुदको विकास र स्थानीय प्रतिभा पहिचानका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको