वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्दै रामपुर नगरपालिका

तानसेन। रामपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । नगरपालिकाले बैंकको पहुँचका हिसाबले भौगोलिक रुपमा टाढा रहेका वडाका लाभग्राहीहरुको सुविधाका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको हाे ।

पालिकाले नगरभित्र रहेका विभिन्न बैंकहरुसंगको सहकार्यमा प्रत्येक त्रैमासिक रुपमा भत्ता वितरण गरिरहेको छ । नगरपालिकाले वडा नं. १,२,९ र १० का नागरिकहरुको सुविधाका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको जनाएको छ।

यसैबीच रामपुर नगरपालिका वडा नं.९ मा भत्ता वितरणसहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्रमार्फत बायोमेट्रिक भेरिफिकेशन शिविर सम्पन्न भएको छ ।रामपुर नगरपालिका वडा नं.९ ले नेपाल इनभेष्टमेन्ट मेगा बैंक लिमिटेड रामपुर शाखाको सहकार्यमा सामाजिक सुरक्षा वितरण गरेको हो ।

वडा नं.९ को वडा कार्यालयमा १ सय ८२ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकले १९ लाख ५० हजार रुपैयाँ वितरण गरेको नेपाल इन्भेष्टमेन्ट बैंक रामपुर शाखाका प्रमुख बाबुराम कंडेलले जानकारी दिए। रामपुर नगरपालिकासंग समन्वय गरेर बैंकले सेवा प्रदान गर्दै आएको उनले बताए ।

नगरपालिकाले वडाबाटै भत्ता वितरण र बायोमेट्रिक भेरिफिकेशन सेवा प्रदान गरेपछि लाभग्राहीहरु खुशी भएका छन् । आफ्नो सामाजिक सुरक्षा भत्ता लिनकै लागि सवारी साधनमार्फत रामपुरको बेझाँड बजार पुग्नु पर्ने र आउजाउ गर्दा विगतमा १ हजार रुपैयाँ भन्दा बढी खर्च भएको र अहिले त्यो बाध्यता हट्दा खुशी लागेको रामपुर ९ का थान बहादुर पाटा मगरले बताए। गाडीमा लामो समयसम्म यात्रा गर्दा बृद्धबृद्धाले सास्ती खेप्नु परे पनि अहिले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउँदा सजिलो भएको मगरको बुझाइ छ ।

यस्तै रामपुर ९ कै भिमिसरा नेपाली अहिले एक पैसा पनि खर्च नगरी आफ्नो सामाजिक सुरक्षा भत्ता पाउँदा सुख शान्ती भएको बताइन् । अहिले घरकै खाना खाएर घर नजिकैबाट भत्ता बुझ्न पाउँदा गाडी भाडा र खाजा खर्चसंगै समयको पनि बचत भएको उनको भनाइ छ।

वडाबासीहरुको सेवा सहजताका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा नं.९ का अध्यक्ष डिल बहादुर रानाले बताए। बैंकसम्म आउन जानका लागि बृद्धवृद्धा र असक्त नागरिकलाई समस्या हुन र उक्त समस्यालाई मध्येनजर गरेर वडाबाटै भत्ता वितरण गर्दै आएको रानाले बताए।

साथै सोही अवसरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्रमार्फत बायोमेट्रिक भेरिफिकेशन पनि गरिएको छ । वडा कार्यालयमा भएको शिविरमा १ सय ४१ जनाको बायोमेट्रिक भेरिफिकेशन गरेको रामपुर नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख प्रतिमा घिमिरेले जानकारी दिइन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको