
तानसेन। पाल्पा जेसिजले बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा तानसेनस्थित म्याहालधारामा रहेको पाल्पा सिविआरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको हो।
उक्त संस्थाले दाल, चामल, आलु तरकारी नुन तेल मसला तथा विभिन्न किसिमका ड्राई खाजाहरु प्रदान गरेको जनाएकाे छ। बुधबार जेसिजका पदाधिकारीहरु सिविआरमै पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।
खाद्यान्न सहयोग गर्दै जेसिज पाल्पाका संस्थापक अध्यक्ष जेसी छत्रराज शाक्यले मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनाका साथ जेसिजले काम गर्दै आएको बताए । उनले नेतृत्व र व्यक्तित्वसँगै जेसिजले सामाजिक कार्यलाई समेत सशक्त रुपमा अगाडि बढाएको उल्लेख गरे । आगामी दिनहरुमा समेत विपन्न, अशक्त बालबालिकाहरुका लागि जेसिजले सहयोग गर्दै जाने पाल्पा जेसिसका अध्यक्ष जेसी विवेक काजी शाक्यले बताए ।
उनले भने ‘ हामीले युुवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै मानवीय सेवामा समेत समर्पित भएर काम गर्दै जाने छौं ।’ कार्यक्रममा सिविआर पाल्पाका प्रबन्धक कृष्ण गहतराजले संस्थाले लामो समयदेखी अपाङ्ख बालबालिकाको लागि डे केयर सञ्चालन गर्दै आएको बताए ।
डे केयरमा बालबालिकाको लागि फिजियो थेरापी, उनीहरुलाई पढ्दै खेल्दै सिक्दै कार्यक्रम सञ्चालन हुँदै आएको छ । विद्यालयको रुपमा सञ्चालित डे केयरको सरकारी क्षेत्रबाट कुनै किसिमको सहयोग नहुँदा विभिन्न संघ संस्था व्यक्तिहरुको सहयोगमा सञ्चालन हुँदै आएको छ ।
डे केयर सेन्टरमा नियमित रुपमा पन्ध्रदेखी विस जना बालबालिका रहने गरेको गहतराजले जानकारी दिए । कार्यक्रममा पाल्पा जेसिजका संस्थापक महासचिव जेसी बुद्धि प्रसाद शर्मा, पूूर्व अध्यक्ष मधु दयाल सैंजु, पाल्पा जेसिजका सदस्य लगायतका व्यक्तिहरु खाद्यान्न वितरणमा सहभागी भएका थिए ।