रिब्दीकोट गाउँपालिकाद्वारा किसानलाई खसी–बोकाको उचित मूल्य सुनिश्चित

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले किसानको आयआर्जन बढाउन र उनीहरूलाई बाख्रापालनमा प्रोत्साहित गर्न खसी–बोकाको न्यूनतम मूल्य निर्धारण गरेको छ । खसी–बोकाको न्यूनतम मूल्य निर्धारण गरेसँगै किसानलाई राहत मिलेको छ ।

रिब्दीकोट कृषि परियोजना, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण आर्थिक विकास संघको सहकार्यमा छलफल गरी यो मूल्य तोकिएसँगै किसानले तोकिएको मुल्यमा खसीबोका कारोबार गर्न पाउने भएका हुन ।

गाउँपालिकाले किसान र व्यापारीबीचको दूरी घटाउन र उत्पादित वस्तुको उचित मूल्य दिलाउन पहल गरिएको हो । यसअन्तर्गत, अबदेखि किसानले २० किलोसम्मका खसी–बोकाका लागि प्रति किलो रु. ३८०, २१ देखि ३० किलोसम्मका लागि रु. ४८०, ३१ देखि ४० किलोसम्मका लागि रु. ५००, ४१ देखि ५० किलोसम्मका लागि रु. ५३०, ५१ देखि ६० किलोसम्मका लागि रु. ५५०, र ६० किलोभन्दा माथिका लागि रु. ५८० प्रति किलोका दरले न्यूनतम मूल्य पाउनेछन् ।

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कृषि तथा पशु शाखाका कर्मचारी र प्राविधिकहरूलाई किसानका समस्या बुझेर उनीहरूको घरघरमै पुगी सेवा प्रदान गर्न निर्देशन दिएका छन्। यसबाट किसानले बाख्रापालनमा भोगिरहेका समस्याहरूको समाधानमा सहयोग पुग्ने किसानको भनाई छ ।

उक्त कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नं. १ का वडाध्यक्ष चिरञ्जीवी पोखरेल, वडा नं. २ का वडाध्यक्ष ओमप्रसाद पोखरेल तथा सरोकारवालाहरूको पनि उपस्थिति थियो। पालिकाभित्रका सक्रिय बाख्रा पालक किसानहरूले पनि यस कार्यक्रममा भाग लिएर आफ्ना अनुभव र समस्याहरू राखेका थिए ।

तपाईको प्रतिक्रिया