सिद्धबाबा सुरुङ मार्ग निर्माण धमाधम  

तानसेन। निर्माणधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको लाइनिङको काम सकिएको छ । कुल एक हजार १२६ मिटर लम्बाइको सुरुङको मुख्य टनेलको भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपन अर्थात (लाइनिङ) को काम सम्पन्न भएको हो।

सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीका अनुसार सुरुङभित्रको पर्खाललाई कंक्रिट, सटक्रिट, ब्लक वा अन्य सामग्रीले छोप्ने काम भइरहेको छ ।

लाइनिङपछि सुरुङ सुरक्षित, मजबुत र प्रयोगयोग्य हुने प्रमुख अधिकारीले बताए। यसको लम्बाई एक हजार ८९ मिटर रहेको छ । यसअघि भुइँमा ढलान अर्थात (इन्भर्ट) को काम भएको थियो । इन्भर्टको काम पनि १०८९ मिटर सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । याेसँगै उत्तर र दक्षिण पोर्टलको कामसमेत अघि बढाएको छ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम सुरू भएकाे हाे ।

इन्भर्ट र लाइनिङको काम सकिएपछि उत्तर र दक्षिण पोर्टलको काम अघि बढेर बाहिरी भागको कामसमेत धमाधम भइरहेको छ आयोजनाले जनाएको छ ।  बीचमा कुनै अवरोध वा अन्य केही समस्या नआउने हो भने अबको ७ महिनामा मुख्य टनेलबाट सवारी साधन गुडाउन सकिने आयोजना कार्यालयले जनाएको छ ।

पाँच वर्षमा निर्माण सक्नेगरी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङ मार्ग निर्माणको ठेक्का सम्झौता गरी २०७८ फागुनबाट काम सुरु गरेको थियो ।

सम्झौैताअनुसार २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्नेछ ।  सुरुङ मार्ग बनेपछि पडाड र तराइँको यात्रामा सहज हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer