
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अति विपन्न समुदायका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार गर्न ’अध्यक्षसँग निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम’ सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत, दलित, अति विपन्न र ’ग’ वर्गका अपाङ्ग नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।
गाउँपालिकाले आर्थिक रुपमा कमजोर समुदायका नागरिकहरु पैसाकै कारण ज्यान गूमाउनुपर्ने अवस्था रोक्न यो अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । गाउँपालिकाले यो अभियान रिब्दीकोट अन्तर्गतका ८ वटै वडाहरूमा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।
यस कार्यक्रमले विपन्न र अपाङ्गता भएका नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । चालू आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो । पहिलो चरणको कार्यक्रम रिब्दीकोट गाउँपालिका वडा नं. २ देउरालीबाट कार्यक्रमको सूरुवात गरिएको हो । वडा नम्वर. २ का ७० जना लक्षित वर्गका नागरिकहरूको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालको पनि विशेष उपस्थिति थियो । वडा नं. २ का वडा अध्यक्ष ओम प्रसाद पोखरेलको अध्यक्षतामा भएको हो ।
निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सूरुवात भएसँगै रिब्दीकोट बासी नागरिकहरु उत्साहित भएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिकाले जनमुखी कार्यक्रम गरेर नागरिकको जीवनस्तर माथि उकास्न कोसिस गरिरहेको स्थानीयबासिन्दाको भनाई छ ।