रानीमहल जाँदै गरेको बस दुर्घटना, विद्यार्थीसहित ११ जना घाइते

तानसेन।  ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाल्पाको रानीमहलमा शैक्षिक अवलोकलनका लागि जाँदै गरेको बस दुर्घटना भएको छ । शुक्रबार बिहान दाङबाट विद्यार्थी बोकेर रानीमहलतर्फ जाँदै गरेको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका– १३ बैकुण्ठे भिर नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । दाङको राजपुरस्थित साधारण नमुना मा.वि.का विद्यार्थी बोकेर रानीमहल भ्रमणका लागि आएको बस अचानक आफै अनियन्त्रित भइ सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए।

प्रहरीका अनुसार घाइते हुनेहरुमा दाङको राजपुर गाउँपालिका –४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका ११ का २२ वर्षीय दामोदर रेउले, चालक घोराही उपमहानगरपालिका–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका –५ की १२ वर्षीया सन्ध्या भण्डारी, सोही गाउँपालिका– ६ की १८ वर्षीया दिल कुमारी रावत, सोही ठाउँकी १० वर्षीया सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली रहेका छन् ।

यस्तै दुर्घटना राजपुर गाउँपालिका –५ की २३ वर्षीया सिर्जना यादव, १३ वर्षीय आयुष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही उपमहानगरपालिका –९ का ३५ वर्षीय बसन्त योगी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उद्दारपछि  उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएको छ । घाइते सबैको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया