पाल्पा । नेपाली कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई पाल्पास्थित भातृ युवा संगठनहरूले ऐतिहासिक उपलब्धिको रूपमा स्वागत गरेका छन् । योङ कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपाल, पाल्पाको संयुक्त बैठकले पार्टी एकताको समर्थन गर्दै जिल्लामा संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको हो ।
मंसिर ५ गते सम्पन्न संयुक्त बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका वामपन्थी शक्तिहरूबीचको एकतालाई अनुमोदन गर्दै जिल्लादेखि वडा तहसम्म युवा संगठनहरूको एकता प्रक्रिया टुंग्याउन ‘एकता कार्यदल’ गठन गरेको छ ।
‘जेन–जी आन्दोलन’ का सहिदप्रति श्रद्धाञ्जली र सरकारसँग माग बैठकले हालैको ‘जेन–जी आन्दोलन’ का क्रममा सहादत प्राप्त सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, गत भदौ २३ गते भएको दमनमा संलग्न दोषीमाथि कडा कारबाही गर्न र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
साथै, आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडमा संलग्नहरूमाथि निष्पक्ष छानबिनको माग गर्दै संगठनले आन्दोलनका वैध मागहरू तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
फागुन २१ को निर्वाचनमा सक्रिय सहभागिताको आह्वान राष्ट्रिय समस्याको निकास निर्वाचनबाट मात्र सम्भव हुने निष्कर्ष निकाल्दै युवा संगठनहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन जिल्लाका सम्पूर्ण युवाहरूलाई आह्वान गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै वाइसियल नेपाल, पाल्पाका अध्यक्ष. कमल श्रेष्ठ र युवा संघ नेपाल, पाल्पाका अध्यक्ष आशिष श्रेष्ठले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र सहभागितामूलक बनाउन सरकार तथा सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।
बैठकले जिल्लाका अन्य वामपन्थी तथा क्रान्तिकारी युवाहरूलाई पनि विचार र साझा एजेन्डाका आधारमा एकताबद्ध हुन अपिल गरेको छ ।





















