पाल्पालाई ‘खोरेत रोगमुक्त’ बनाउने अभियान सम्वन्धी अभिमुखीकरण

पाल्पा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जिल्लाका पशुपालन व्यवसायलाई सुरक्षित र दिगो बनाउने लक्ष्यसहित ‘खोरेत रोगमुक्त जिल्ला अभियान’ थालनी गरेको छ । खोेरेत रोगले पशुको उत्पादन क्षमता र किसानको आम्दानीमा ठूलो क्षति भएको छ ।पशुलाई खोपका मार्फत निरोगी बनाउदै किसानको नोक्सानी घटाउने गरी यो अभियान सुरुवात भएको हो ।

‘खोरेत रोगमुक्त जिल्ला अभियान’ अन्तर्गत जनप्रतिनिधि र खोपकर्ताहरूसँगको समन्वयात्मक तथा अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्लाभर खोप कार्यलाई प्रभावकारी बनाउने गरी छलफल सम्पन्न भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालकोे कृषिलाई प्राथमिकता दिँदै इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा पाल्पा मासु, दुध अण्डा लगायतमा आत्मनिर्भर हुने बताए । कृषि क्षेत्र उपेक्षाको पेशा बनिरहेको अवस्थामा यसलाई सम्मानित पेशा बनाउनुपर्ने उनले बताए ।

पशुसेवा विज्ञ केन्द्रका महानिर्देशक श्रवणकुमार चौधरीले अहिले किसान पनि विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि निर्णायक कदम चाल्नुपर्ने बताए । “हामीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सम्मानित पेशाको रूपमा अगाडि बढाउनुपर्छ,” महानिर्देशक चौधरीले भने, “देशको समग्र विकासका लागि कृषि क्षेत्रमा लाग्ने सम्पूर्णले गल्ती नगरी इमान्दारिताका साथ निरन्तर आफ्नो मेहनतलाई अगाडि बढाउनुपर्छ।”

कृषि विज्ञ केन्द्रका सचिव अनिल मरासिनीले यस अभियानको सफलता खोपकर्ताहरूमा निर्भर रहने कुरामा जोड दिए । उनले खोपकर्ताहरूलाई उच्च सतर्कता र जिम्मेवारीका साथ कार्य गर्न आग्रह गर्दै, यो अभियान सफल पार्नका लागि खोपकर्ताहरूको प्रमुख भूमिका रहेको बताए ।

रिब्दिकोट गाउँपालिकाका प्रमुख नारायणबहादुर कार्कीले नयाँ युवाहरू र जेनजी पुस्तालाई कृषिमा जोडेर अगाडि बढाउन सकेमा देशको कृषि क्षेत्रले उच्च स्थान हासिल गर्ने बताए ।

वरिष्ठ पशु चिकित्सक तथा प्रयोगशाला प्रमुख डा. भरत काफ्लेले भ्याक्सिन प्रयोग र भण्डार सही रुपमा गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया