सीताकुण्डमा राम-सीता विवाह उत्सव मनाइदै

पाल्पा।  विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा हुन गैरहेको  राम–सीता विवाह उत्सवको तयारी तिव्रगतिमा भैरहेको रामपुर नगरपालिकाले जनाएको छ । धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न आगामी मङसिर ९ गते हुन लागेको उत्सवको तयारीको कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।  शनिबार पत्रकार सम्मेलन गरी नगरपालिकाले तयारीको विषयमा जानकारी दिएको हो ।

वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा स्नान गरेको पवित्र भुमि वडा नं. ५ स्थिति कालीगण्डकी किनारको रामघाटमा बाट जन्त निकाल्ने, रामपुर क्षेत्रमा घुम्ने क्रममा भगवान सीता रजस्वाला भएको समयमा भगवान रामले  वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको वडा नं. ३ स्थित सीताकुण्डमा जन्तलाई स्वागत गरी विवाह उत्सव मनाउने तयारी गरिएको हो ।

रामपुर नगर भित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगाएतका धार्मिक स्थलहरु रहेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विवाह उत्सवको बारेमा जानकारी दिदै नगर भित्र रहेका भगवान राम र सीता संग सम्बन्धित ऐतिहासिक धार्मिक धार्मिक स्थलहरुको महत्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह पञ्चमी भव्यताका मनाउन लागिएको जानकारी दिए।

नगर भित्रका महत्वपूर्ण धार्मिक स्थलको संरक्षण संगै महिमाको प्रचार प्रसार गरी धार्मिक पर्यटन संग जोड्ने मुख्य ध्येय रहेको बताउनुभयो । विवाह उत्सवमा जन्त संगै सीताकुण्ड सम्म पुग्ने धर्मवालम्बीहरुको सहजताको लागि सडक स्तरोन्नति तथा सीताकुण्डमा गाडी पार्किङका लागि व्यवस्थापन गरिएको थापाले जानकारी दिए।

भगवान रामले विचरण गरेको पुण्य भूमि भएकाले सोही आधारमा रामपुर नामाकरण भएको उनले उल्लेख गरे उनले सीताकुण्ड परिसरको सरसफाईलाई ध्यानमा राख्दै पलाष्टिक जन्य सामाग्री निषेध गरिएको बताए।

उत्सवमा सहभागी हुन रामपुर नगर संगै कालीगण्डकी वेशीका सरोकारवाला सबैलाई आग्रह समेत  गरे।

धार्मिक व्यक्तित्व सन्दिप रानाले सीताकुण्डको बारेमा जानकारी दिनुहुँदै स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदुतमा समेत सीताकुण्डको बारेमा उल्लेख भएको बताए। । सीताकुण्डको महिमा छुट्टै रहेको बताउँदै भाकल गरेमा मनोकामना पुरा हुन्छ भन्ने स्थानीयमा विश्वास रहेको बताए।

साथै कुण्डमा पाइने फरक प्रकृतिको जंगली धानको विषेशताको बारेमा पनि जानकारी दिएका थियो । माइती पक्षकोतर्फबाट जन्तको स्वागत, मन्दिरको सरसफाई, खाना तथा प्रसादी व्यवस्थापनका लागि वडा नं. ३ र ४ का स्थानीय, टोल विकास समितिहरु जुटिरहेको बताए । १२ स्थानमा स्वागत द्वारा निर्माण गरिने उनले जानकारी दिए।

बेहुला पक्षका सचिवालय समिति संयोजक एवं रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पञ्चेबाजा र रामपुर नगर भित्रका १३ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकी सहित सीताकुण्ड जन्त लैजानका लागि तयारीको कार्य भैरहेको बताए।  वडा नं. ५ को रामघाटबाट जन्त निकाल्ने र राम मन्दिरबाट कसार र दहीसहित सगुन दिएर जन्त पठाउने तयारी भैरहेको उनले बताए।

मुख्य पण्डित हरि प्रसाद खनालले विवाह पञ्चमीका दिन विहान रामघाटमा यज्ञ पश्चात ९ बजेको शुभसाइतमा चौरासी पुजा गरिसक्नु भएका जेष्ठ नागरिकहरु बाट जन्तीलाई विदाई गर्ने, राममन्दिर बाट सगुन खाएर विदाई पश्चात धार्मिक व्यक्तित्वहरु महन्त, पण्डित, बटुक सहितको पैदल सीताकुण्ड जाने कार्यक्रम रहेको बताए।

मौलिक परम्परा अनुसार जन्तलाई सीताकुण्डमा पुगेपछि माईती पक्षले पर्सिने र स्वागत पश्चात कुण्डमा पण्डितहरुको वैदिक विधि पूर्वक विवाह सम्पन्न गरिनेछ । बालनको माध्यम बाट लोकनाटक मार्फत रामसीताको विवाह उत्सवको प्रदर्शन संगै अन्य जातिय झाँकी प्रदर्शनी ३ बजे जन्त फिर्ता भै रामघाट मै आएर विवाह उत्सवको विधि पूर्वक समापन गरिने खनालले बताए।

विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि रामपुर नगरपालिकाले मङसिर ९ गते नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक विदा समेत दिएको छ । गत कार्तिक २४ गतेको कार्यपालिका बैठक बाट निर्णय गरी विदा दिने निर्णय गरेको हो ।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा र रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको थियो

तपाईको प्रतिक्रिया