पाल्पा । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका शक्तिहरूले ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गरेसँगै पाल्पामा भ्रातृ संगठनहरूले पार्टी एकताको भावनालाई आत्मसात गर्दै तीव्र गतिमा एकता प्रक्रिया अगाडि बढाएका छन् । जिल्लाका मगर, युवा, महिला र दलित संगठनहरूले संयुक्त बैठक बसी संगठन सुदृढीकरण र एकताका लागि कार्यदलहरू गठन गर्न व्यस्त बनेका छन् ।
यस प्रक्रियाले पार्टीका कार्यकर्ताहरूमाझ थप उत्साह र ऊर्जा प्रदान गरेको जनाएका छन् । पार्टी भातृसंगठनहरुले पनि एकता प्रक्रिया स्वागत गरी एकता कार्यदल बनाउन व्यस्त बनेका छन् । दुवै पार्टी कार्यकर्ताहरु एकआपस छलफल मार्फत संगठनहरु बलियो बनाउनेतर्फ लागि परेका हुन ।
यसैबीच मगर राष्टिय मुक्तिमोर्चा नेपाल र लोकतान्त्रिक मगर संघको संयुक्त बैठक बस्यो । बैठकले ६ सदस्यीय कार्यदल बनाउने सहमति भयो । कार्यदल नियमित रुपमा गतिविधिहरु अगाडि बढाउने निर्णय गरेको छ । योङ कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपाल, पाल्पाको संयुक्त बैठकले पार्टी एकताको समर्थन गर्दै जिल्लामा संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको हो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल नेपाल महिला संघ समाजवादीको संयुक्त बैठक बस्यो । उनीहरुले एकता प्रक्रियालाई मूल रुपमा दिने गरी तीन तीन सदस्य कार्यदल समेत निर्माण गरेका छन् । एकता प्रक्रिया कम्युनिष्ट पार्टीहरु एकजुट भएकोमा स्वागत समेत गरेका छन् । माओवादी निकटको दलित मुक्ति मोर्चा र समाजवादी निकटको नेपाल दलित मुक्ति संगठनको पनि संयुक्त बैठक सम्पन्न भयो । बैठकले ६ सदस्यीय कार्यदल गठन गरी काम अगाडि बढाएको छ ।
पाल्पा जिल्लामा जनवर्गीय संगठनहरु पार्टी एकतासँग स्वागत गरेका छन् । जनवर्गीय संगठनहरुले पार्टीलाई बलियो बनाउने गरी एकता प्रक्रियामा सक्रिया सहभागिता रहेको नेकपाका नेता अशोक कुमार शाहीले बताए । भातृ संगठनहरुलाई एकता गर्ने काम भइरहेको छ । भातृ संगठनलाई एकता गर्न कार्यदल बनाउने काम भइरहेको अर्का नेकपाका अर्का नेता राजेन्द्र विश्वकर्माले बताए ।
भातृ संगठनहरूको एकताले ग्रासरूट तहसम्म पार्टीको सन्देश पुर्याउन र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास नेताहरूले व्यक्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीले अब पाल्पामा आफ्ना सांगठनिक संरचनालाई कसरी मजबुत बनाउँछ र आगामी राजनीतिक कार्यक्रमहरूलाई कसरी अगाडि बढाउँछ भन्ने विषयमा जिल्लाभरका राजनीतिक वृत्तमा चासो बढेको छ।





















